एजेन्सी – नेटफ्लिक्सबाट प्रसारण भइरहेको ‘द ग्रेट इन्डियन कपिल शो’ पुनः विवादमा तानिएको छ । एक शृङ्खलामा यस शोका कलाकार कृष्णा अभिषेकले गरेको मजाकले रवीन्द्रनाथ टैगोरप्रति असम्मान देखिएको भन्दै उनी विवादमा मुछिएका छन् ।
बङ्गाली लेखक सृजातो बन्ध्योपाध्यायले कृष्णाले टैगोरको गीत ‘एकला चलो रे’ लाई परिवर्तन गरेर ‘पाचला चलो रे’ भनेकोमा आपत्ति जनाएका छन् । सृजातोले सामाजिक सञ्जालमा पोस्ट गर्दै माफी माग्न माग गरेका छन् । उनले लेखेका छन्, “मजाक र सम्मानबीचको रेखा नाघ्नु खतरनाक हुन सक्छ । यस किसिमका मजाकले बङ्गाली समुदायको भावनामा चोट पुर्याएको छ ।”
यस विषयमा बोंगो भाषी महासभा फाउन्डेसनले पनि शोका मेकर्सलाई कानुनी नोटिस पठाएको छ । तर, शोका मेकर्सले उक्त आरोप अस्वीकार गर्दै शोको उद्देश्य केवल मनोरञ्जन भएको बताएको छ ।
यो विवाद काजोल र कृति सेनन फिल्म प्रमोसनका लागि शोमा गएका बेला भएको थियो । कृष्णाले रवीन्द्रनाथ टैगोरको गेटअपमा प्रवेश गरेर गीतको शब्द परिवर्तन गरी व्यङ्ग्यात्मक प्रस्तुति दिएका थिए, जसले समुदायको असन्तुष्टि जन्माएको हो ।
रवीन्द्रनाथ टैगोर बङ्गाली कवि, लेखक, सङ्गीतकार, र चित्रकार थिए, जसले सन् १९१३ मा साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।