काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले आफूलाई व्यङ्ग्य गर्न प्रयोग हुने गरेको ‘महानायक’ उपाधि सम्बन्धी असहज धारणा राखेका छन् । उनले फेसबुकमार्फत आफूलाई ‘महानायक’ सम्बोधन गर्ने व्यक्तिहरूलाई आफ्नो फेसबुकबाट ब्लक गर्ने चेतावनी दिएका छन् ।
शुक्रवार बिहानै उनले फेसबुकमा उनले लेखेका छन्, “फेसबुकको पर्खाल आफ्नो विचार पोख्ने थलो हो, यहाँ आफूलाई के मन पर्छ त्यो लेख्ने हो, दुनियाँलाई के मन पर्छ त्यो लेख्ने होइन ।” यससँगै, उनले कमेन्टमा थपेका छन्, “आजबाट जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दै छु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु ।”
कोरोना महामारीको समयमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक अन्तर्वार्तामा आएको अभिव्यक्तिपछि दीपकलाई व्यङ्ग्यात्मक रूपमा ‘महानायक’ भन्न सुरु भएको थियो । उक्त अन्तर्वार्तामा निरौलाले अभिनेता राजेश हमाललाई ‘महानायक’ उपाधि दिनु उपयुक्त नभएको धारणा व्यक्त गरेपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना भयो ।
प्राइम टेलिभिजनमा प्रकाश सुवेदीसँगको अन्तर्वार्ता प्रसारण भएपछि अभिनेत्री दीपाश्री निरौलाले चर्को ‘बुलिङ’को सामना गर्नुपर्यो । यसपछि, दीपाश्रीले सार्वजनिक रूपमा माफी माग्दै भनेकी थिइन्, “मैले गरेको अभिव्यक्तिले कसैको मन दुखेको भए म माफी चाहन्छु ।”
यस विवादमा अभिनेता राजेश हमालले पनि एक भिडियो सन्देश मार्फत ‘कसैको मानवतामा आँच आउने प्रतिक्रिया नदिन र फराकिलो दृष्टिकोणले’ सोच्न आग्रह गरेका थिए । “मेरा सहकर्मी, मजस्तै कलाकारले मलाई लक्षित गरेर केही भनाई राख्नु भयो । सो भनाई सुनेपछि दर्शकले असन्तुष्टि र आक्रोश व्यक्त गर्नुभयो । झट्ट हेर्दा आफूलाई चित्त नबुझेको, आफ्नो भावनालाई ठेस पुर्याउने कुरा कसैले सार्वजनिक मञ्चमा राख्छ भने कठोर र ठाडो प्रतिक्रिया दिनु स्वाभाविक हुन्छ । तर, हामीले बृहत् चित्रलाई मनन गरेर हेर्यौँ भने एउटा व्यक्तिले पेसागत रूपमा होस् या कसैप्रति लक्षित भएर किन नहोस्, कसैले अभिव्यक्ति राख्नुहुन्छ भने, झट्ट त्यो व्यक्तिलाई आघात पुग्ने गरी प्रतिक्रिया दिनु सही हुँदैन ।”
हमालले आफूमा यस्ता अभिव्यक्तिहरूलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अघि बढिरहने क्षमता छ रहेको र यो सबै दर्शकले दिएको ऊर्जाबाट नै भएको बताउँदै भनेका थिए, “म आफ्नो दर्शकलाई हृदयदेखि नै अनुरोध गर्न चाहन्छु कि अलिक फराकिलो भएर, सकारात्मक हिसाबबाट मानवताको लागि, कसैको मानवतामा आँच नपुग्ने गरी आफ्नो अभिव्यक्तिहरू प्रकट गरौँ ।”
लामो समयदेखि अभिनेता राजेश हमाललाई दर्शकले ‘महानायक’ सम्बोधन गर्दै आएका छन् । यो उपाधिको विषयमा समय समयमा तर्क वितर्क हुने गरेका छन् । कोही यसको पक्षमा छन् भने कोही विपक्षमा छन् ।
दीपक-दीपा र ‘महानायक’ विवादको पराकम्प हालसम्म आइरहेको छ । निरौलाले माफी मागेता पनि गिरीमाथिको व्यङ्ग्य भने रोकिएको छैन । जब दीपक-दीपा संलग्न चलचित्र रिलिजको समय हुन्छ ‘साइबर बुलिङ’ हुन थाल्छ । यो क्रम यस पटकको दसैँमा रिलिज भएको चलचित्र ‘छक्का पञ्जा ५’को समयमा पनि भयो । दीपकलाई मन नपराउनेहरूमध्ये कसैले ‘महानालायाक’ समेत भन्ने गरेका छन् । यद्यपि, दीपक-दीपा संलग्न सबै चलचित्र नेपालमा सर्वाधिक सफल चलचित्रहरूमा नै पर्ने गरेका छन् । उनीहरूले संयुक्त रूपमा ‘छ एकान छ’, ‘वडा नम्बर छ’, ‘छ माया छपक्कै’ तथा ‘छक्का पञ्जा’का ५ वटा शृङ्खला निर्माण गरेका छन् । यी सबै चलचित्रमा दीपकराज गिरीको प्रमुख अभिनय रहेको छ भने केही चलचित्र दीपाको निर्देशनमा बनेका छन् ।
गत भदौमा दीपकराज गिरीले ‘महानायक’ उपाधि सम्बन्धी विवादमा आफ्नो धारणा प्रस्ट पारेका थिए । काठमाडौंमा आयोजित ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’को ‘नायक र नायकत्व’ छलफल सत्रमा उनले भनेका थिए, “विशेषणको बजारजस्तो लाग्छ हाम्रो चलचित्र क्षेत्र । दुइटा चलचित्र खेल्न पाएको छैन, विशेषण चाहिने । सायद विशेषणको भोक छ होला । नायक, महानायक कैयौँभन्दा कैयौँ गुणा उच्च कलाकारभन्दा अरू विशेषण चाहिँदैन ।”
‘महानायक’ उपाधिमाथि विवाद भइरहेको समयमा ‘आरके इन्टरटेन्टमेन्ट’ले एक कार्यक्रमको दौरान अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ उपाधि दिएको थियो । करिश्माले पनि खुसी खुसी उपाधि लिइन् । सो कार्यक्रममा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, अभिनेता राजेश हमाल र नीर शाहलगायतको उपस्थिति थियो । आयोजकले ‘योगदानको सम्मान गरेको बतायो’ ।
‘महानायिका’ प्रसङ्गमा पनि दीपकले कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले भनेका थिए, “कलाकारलाई उपाधि दिनु आपत्ति होइन । हाम्रो कलाकार साथीले उपाधि पाउनु त राम्रो हो । तर, महानायिका भनेर उपाधि दिँदा वर्षौँदेखि काम गरिरहेका अभिनेत्रीहरूलाई त चित्त दुख्न सक्छ ।”
रेडियो कार्यक्रमबाट सङ्गत सुरु भई सन् २००३ मा नेपाल टेलिभिजनमा प्रसारण भएको लोकप्रिय नेपाली हास्य टेलिश्रृंखला ‘तीतो सत्य’बाट बहुचर्चित बनेका दीपक-दीपाले यो शृङ्खलामार्फत १२ वर्षसम्म निरन्तर घर घरमा पुगेका थिए । सामाजिक र राजनीतिक विषयवस्तुलाई हास्य शैलीमा प्रस्तुत गरिने यो शृङ्खला नेपालमा सबैभन्दा धेरै हेरिने कार्यक्रमहरूमध्ये एक थियो ।