काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ देशभर रिलिज भएको छ। निर्देशक चन्द्र पन्तको यो चलचित्रले नेपालभरका हलमा करिब १५० शो प्राप्त गरेको छ, जुन अपेक्षाभन्दा कम हो, र यसको कारण ‘पूर्ण बहादुरको सारङ्गी’सँगको प्रतिस्पर्धा रहेको बुझिन्छ।
बिहीबार अबेरसम्म ‘ह्रस्व दीर्घ’को देशव्यापी अग्रिम बुकिङ उत्साहजनक देखिएको थियो। शुक्रवार बिहानदेखि नै हलमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ। बिहानका अधिकांश शोहरूमा उच्च अकुपेन्सी देखिएको छ भने दिउँसोका धेरैजसो शोहरू लगभग हाउसफुल भएका छन्।
महँगो लगानी र उच्च गुणस्तरको निर्माणमा बनेको यो चलचित्रलाई राम्रो कलेक्सन गर्नुपर्ने दबाब छ। पछिल्लो समय नेपाली चलचित्र हेर्ने रुचि बढेको हुँदा, दर्शकले मन पराएको खण्डमा यो चलचित्र सफल हुने अनुमान गरिएको छ।
निता फिल्म्सले निर्माण गरेको यस चलचित्रमा नेपाली र भारतीय कलाकारहरूको संयुक्त अभिनय रहेको छ। शीर्ष भूमिकामा हरिहर अधिकारी र निता ढुङ्गाना छन् भने अन्य कलाकारमा ब्रम्हानन्दम, बिपना थापा, सुनिल बर्मा, मोहम्मद अलि, कबिर सिंह दुहान, सरोज खनाल, रेखा थापा, आदर्श मिश्र, गरिमा शर्मा, प्रशान्त ताम्राकार, गजित बिस्ट, सञ्चिता लुइँटेल, अग्रिम पण्डित, निर्मल शर्मा, बुद्धि तामाङ, र रवीन्द्र झा रहेका छन्।