‘परालको आगो’मा आधारित चलचित्र पुनः निर्माण हुने, दसैँलाई रिलिज तोकियो



काठमाडौं – कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित चलचित्र पुनः निर्माण हुने भएको छ । ४५ वर्षअघि प्रताप सुब्बाले श्याम श्वेत चलचित्र निर्माण गरेका थिए भने यस पटक नयाँ प्रस्तुतीकरण र पटकथामा भिन्नता राखेर फिल्म बनाउने योजना रहेको छ ।

यो चलचित्र लक्ष्मण सुनारको निर्देशनमा र सुशील पोखरेलको निर्माणमा हुनेछ । कलाकारहरूको विषयमा भने कुनै खुलासा भएको छैन । मैनाली कथा पुरस्कार ट्रस्ट तथा कथाकार मैनालीका छोरा माधवप्रसाद मैनालीले पोखरेलको हरिओम सिने मेकर्सलाई निर्माणको अनुमति दिएको हो । ट्रस्टले कथाको मर्मलाई ध्यानमा राख्दै चलचित्र बनाउन सहमति दिएका हो, जसलाई २५ वर्षअघिको नेपाली समाजको परिवेशमा निर्माण गरिनेछ ।

‘परालको आगो’ नेपाली साहित्यको प्रसिद्ध कथा हो, जसले ग्रामीण जीवनमा लोग्ने-स्वास्नीबीचका झगडाहरूको अस्थायी स्वभावलाई चित्रण गर्दछ । कथामा मुख्य पात्रहरू चामे र गौँथलीको दाम्पत्य जीवनमा ससाना कुरामा विवाद उत्पन्न हुन्छ । कथाकारले यस्ता झगडाहरूलाई ‘परालको आगो’सँग तुलना गरेका छन्, जसरी परालको आगो छिट्टै बल्छ र छिट्टै निभ्छ, त्यस्तै लोग्ने-स्वास्नीबीचका झगडाहरू पनि क्षणिक र अस्थायी हुन्छन् । यो कथा मैनालीको ‘नासो’ कथासङ्ग्रहमा समावेश छ ।

चलचित्रको प्रदर्शन मिति २०८२ सालको दसैँमा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu