‘वैशाख १ देखि पूर्ण बक्स अफिस लागू हुने, डेढ वर्षभित्र स्टुडियो निर्माण’



काठमाडौं — नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक उपलब्धिको रूपमा रहेको ‘रियल टाइम बक्स अफिस’ प्रणाली आगामी वैशाख १ गतेदेखि लागू गरिने घोषणा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बिहीबार काठमाडौंमा आयोजित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को विशेष प्रदर्शनीमा बोल्दै यस महत्त्वपूर्ण घोषणाको जानकारी दिएका हुन् ।

डिसीले नेपाली चलचित्र उद्योगको व्यावसायिकता र पारदर्शिता सुधार गर्नका लागि यो प्रणालीले ठूलो भूमिका खेल्ने बताए । उनले भने, “वैशाख १ सम्ममा यो प्रणाली लागू गरेर हरेक निर्मातालाई आफ्नो चलचित्रको व्यापारबारे तत्काल जानकारी प्राप्त गर्न सक्ने अवस्थामा पुर्‍याउने पूर्ण प्रतिबद्धता जाहेर गर्दछु ।”

अध्यक्ष डिसीले बक्स अफिस प्रणालीले चलचित्रको वास्तविक व्यापारलाई ‘रियल टाइम’ मा जानकारी गराउने र यसले चलचित्र उद्योगलाई थप पारदर्शी बनाउन टेवा पुर्‍याउने बताए । उनले थपे, “अहिले नेपालमा बसेर अमेरिकाको हलमा मेरो चलचित्रले कति व्यापार गर्‍यो भनेर मोबाइल तुरुन्तै हेर्न सकिने समय छ, यो हाम्रो विजय हो । यसमा सरकारको तर्फबाट खासै योगदान छैन, सबै व्यक्तिगत तवरबाट नै भइरहेको छ । चलचित्र विकास बोर्ड एउटा नियामक निकाय पनि हो, यो संस्थाले नेपाली चलचित्रको लागि नेपालको मात्र होइन विश्व बजारका लागि सहजीकरण गर्नका लागि पनि काम गरिरहेको छ ।”

डिसीले नेपाली चलचित्र उद्योगको सुधारका लागि नीतिगत र कानूनी सुधारहरूको आवश्यकता औँल्याए। उनले वर्तमान ऐनले चलचित्रकर्मीहरूको अधिकार सुरक्षित गर्न नसकेको र यसलाई समयसापेक्ष सुधार गर्नुपर्ने बताए। उनले भने, “अहिलेको प्रमुख काम भनेको ‘चलचित्र ऐन’ बनाउनु हो। हाम्रो प्रयास रहन्छ कि आगामी हिउँदे अधिवेशनमा यो ऐन पास गरियोस्। यदि यो सम्भव भएन भने, वर्षे अधिवेशनमा विशेष अनुरोधमार्फत ऐन पास गर्न पहल गरिनेछ।”

डिसीले यो ऐनले चलचित्रकर्मीहरूको अधिकार सुनिश्चित गर्ने मात्र होइन, नेपालमा चलचित्रको व्यावसायिकता र कानूनी संरचनामा सुधार ल्याउनेमा जोड दिए। उनी भन्छन्, “वि.सं. २०२६ मा बनेको पुरानो ऐन अन्तर्गत चलचित्र विकास बोर्ड चल्दा चलचित्रकर्मीहरूको अधिकार पूर्ण रूपमा सुरक्षित हुँदैन, त्यसैले यो पुरानो ऐन समयानुकूल छैन। अब आधुनिक युगमा चलचित्र उद्योगको विकासका लागि नयाँ ऐनको आवश्यकता छ।”

चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरूको लागि प्राविधिक सहजीकरण गर्न काभ्रेको साँगामा ४२ रोपनी क्षेत्रफलमा नयाँ स्टुडियो निर्माणको योजना अघि बढाएको छ । अध्यक्ष डिसीले आगामी महिनामा यसको शिलान्यास गरिने र डेढ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको बताए । उनले भने, “हाम्रो चलचित्र उद्योगमा एउटा आधारभूत आवश्यकता भनेको राम्रो स्टुडियो हो । तर, अहिले सम्म नेपालमा सानो स्टुडियोसमेत छैन । नयाँ स्टुडियो निर्माणले नेपाली चलचित्रकर्मीलाई प्राविधिक रूपमा सहयोग पुर्‍याउन मद्दत पुर्‍याउनेछ ।”

डिसीले चलचित्र उद्योगमा नयाँ पुस्ताका चलचित्रकर्मीहरूको महत्त्वपूर्ण भूमिकाबारे पनि चर्चा गरे । उनले भने, “नेपालका हरेक मानिससँग एउटा मन छुने कथा छ, तर अब प्रविधि र बजारको सहयोग जरुरी छ । यसैमार्फत हामीले विश्वमा प्रतिस्पर्धा गर्न सक्छौँ ।”

चलचित्र उद्योगको ऐतिहासिक यात्रा र समाजमा चलचित्रको प्रभावबारे चर्चा गर्दै डिसीले भने कि नेपाली चलचित्रले समाजलाई प्रभावित गर्ने शक्तिशाली माध्यमको रूपमा आफ्नो पहिचान स्थापित गरिसकेको बताए । उनले ‘पूर्ण बहादुरको सारङ्गी’ जस्ता चलचित्रलाई उदाहरण दिँदै भने, “पहिले हाम्रो समाजमा चलचित्र हेर्न जाँदासमेत छोरा छोरी बिग्रिन्छन् भन्ने सोच थियो। तर आज, चलचित्रले समाजमा सम्मानजनक स्थान प्राप्त गरिसकेको छ ।”

डिसीले ‘पूर्ण बहादुरको सारङ्गी’ टिमलाई धन्यवाद दिँदै यो चलचित्रले नेपालको सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेकोमा खुसी व्यक्त गरे । उनले भने, “यो चलचित्रले हाम्रो सांस्कृतिक आक्रमणको कारण एकले अर्काको संस्कृतिको पहिचान गर्न नसक्ने समयमा नेपालको सांस्कृतिक दस्ताबेजको रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu