काठमाडौं – नेपाली चलचित्र उद्योगमा चर्चित जोडी दयाहाङ राई र विजय बरालले नयाँ चलचित्र ‘वरिष्ठ बलराम’मा सँगै काम गर्ने भएका छन् । पहिले रोहित अधिकारीले निर्माण गर्ने योजना बनाएको यो चलचित्र अब सेभेन सिज फिल्मस्ले निर्माण गर्ने भएको छ । निर्माताको रूपमा विनोद पौडेल र प्याट्रिक सुवेदी रहनेछन् ।
यो चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गर्ने भएका छन्, जसले प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को सम्पादन पनि गरेका थिए। सेभेन सिज फिल्मस्ले निर्माण गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ हाल प्रदर्शनमा छ र यसले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । फिल्मले प्रदर्शनको १३ दिनभित्र नेपालमा मात्र २५ करोड र विश्वव्यापी ४५ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ ।