काठमाडौं – प्रदर्शनरत बलिउड चलचित्र ‘सिंघम अगेन’को नेपाल प्रदर्शन शुक्रवारदेखि रोकिने भएको छ । ठुलोपर्दासँग कुरा गर्दै वितरक स्रोतले चलचित्र प्रदर्शन रोक्ने निर्णय भएको पुष्टि गरेको छ । हलले शो कम दिएको कारण चलचित्र हटाउने निर्णय भएको चर्चा भए पनि, वितरक स्रोतले यसबारे कुनै प्रतिक्रिया दिन नचाहेको बताएको छ ।
नेपालमा ‘सिंघम अगेन’लाई ए–एट, डीसीएन, र आरआरले संयुक्त रूपमा वितरण गरेका हुन् । यो चलचित्रसँगै प्रदर्शनमा आएको अर्को बलिउड चलचित्र ‘भुल भुलैया ३’ पनि यिनै कम्पनीहरूले संयुक्त रूपमा रिलिज गरेका हुन्, जसको प्रदर्शन भने नियमित रहनेछ ।
‘सिंघम अगेन’को प्रदर्शन रोकिँदा नयाँ रिलिज हुने नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ र प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
स्मरण रहोस्, शुक्रवार प्रदर्शनको तयारीमा रहेको अर्को भारतीय चलचित्र ‘कङ्गुवा’ पनि अन्तिम समयमा आएर रिलिज नगर्ने निर्णय गरिएको थियो । यो चलचित्रलाई पनि ए–एट, डीसीएन, र आरआरले संयुक्त रूपमा वितरण गर्ने योजना बनाएका थिए ।