काठमाडौं – नेपालको चलचित्र उद्योगमा ऐतिहासिक उपलब्धि हासिल गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले सर्वाधिक कमाइको रेकर्ड बनाएको छ। यसअघि यो रेकर्ड २३ करोड ५० लाख कमाएको दाबीसहित ‘कबड्डी ४’को नाममा थियो।
बुधवार काठमाडौँमा आयोजित विशेष शो को अवसरमा निर्माता र वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले अनुसार मङ्गलवारसम्म यस चलचित्रले नेपालमा २५ करोड माथि र ओभरसिजमा २० करोडको ग्रस कमाई गरेको छ जनाए।
पहिलो हप्ताको शनिवार अत्यधिक प्रदर्शन गर्दै ‘सारङ्गी’ले एक दिनमा ३ करोड ८९ लाख कमाउँदै अर्को रेकर्ड पनि बनाएको थियो। घरेलु बजारमा यो चलचित्रले सजिलै ३० करोड माथिको आँकडासम्म पुग्न सक्ने देखिन्छ।
सेभेन सिज इन्टरटेन्मेण्टले निर्माण गरेको ‘पूर्ण बहादुरको सारङ्गी’मा बाबु र छोराको सम्बन्धमा आधारित मार्मिक कथा प्रस्तुत गरिएको छ, जसलाई सरोज पौडेलले निर्देशन गरेका छन्। यसमा प्रमुख भूमिका विजय बरालले निर्वाह गरेका छन्, जसको अभिनयलाई विशेष प्रशंसा गरिएको छ। उनलाई यस भूमिकामा ‘नेचुरल स्टार’को उपमा दिइएको छ। चलचित्रमा अन्य प्रमुख कलाकारहरू प्रकाश सपूत, अञ्जना बराइली र मुकुन भुसालले पनि उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्।