काठमाडौं – नेपाली चलचित्रका निर्देशक शंकर घिमिरे र अभिनेत्री ऋचा घिमिरेमाथि ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको उजुरीमा चलचित्रको नाममा अमेरिका लैजान्छु भनी ठगी गरेको आरोप लगाइएको छ । यस विषयमा परिसरका एसपी नवराज अधिकारीले पुष्टी गरेका समाचार सञ्चार माध्यमहरूमा आएका छन् ।
शंकर र ऋचा लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका छन् । उनीहरूले अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित नेपाली चलचित्रका ‘तेल भिसा’ निर्माण गरी मंसिर ७ गते नेपालमा प्रदर्शन हुने तयारी गरेका थिए । यहि चलचित्र देखाइ ठगी गरिएको आरोप उनीहरूमाथि लागेको छ । यस आरोपबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यतिबेला शंकर र ऋचा दम्पती काठमाडौंमा छन् । यसअघि पनि केही वर्ष अगाडि ढुकुटीमा ठगी गरेको आरोपसहित समाचार प्रकाशन भएको थियो । सोही आरोप लागेको समयमा उनिहरूले नेपाल छोडेका थिए ।