काठमाडौं । जूही चावला, जसलाई भारतकी सबैभन्दा धनी अभिनेत्री मानिन्छ । आज उनी ५७ वर्ष पुगेकी छिन् । उनले सन् १९८६ मा चलचित्र ‘सल्तनत’ मार्फत बलिउडमा पाइला राखेकी थिइन् र ३८ वर्षको करियरमा १०० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको कुल सम्पत्ति ४६०० करोड भारु रहेको भारतका सञ्चारमाध्यमहरूले दाबी गर्छन्, जसका कारण उनी भारतका धनी अभिनेत्रीहरूमध्ये पहिलो स्थानमा छिन् ।
उनी क्लासिकल गायनमा पनि दक्ष छिन् र कहिलेकाहीँ तानपुरा बजाएर पनि साधना गर्छिन् । जूही आईपीएल टीम कोलकाता नाइट राइडर्सकी सह-मालिक हुन्, जुन उनले शाहरुख खानसँग मिलेर खरिद गरेकी हुन् । शाहरुखसँगको मित्रताका क्रममा एक पटक फिल्म ‘फिर भी दिल है हिन्दुस्तानी’को सुटिङका क्रममा डरले शाहरुखलाई थप्पड हानेको घटनाले पनि चर्चा पाएको थियो ।
उनको आमिर खानसँगको सम्बन्ध पनि रोचक रह्यो । आमिरको मस्तीले रिस उठेपछि जूहीले पाँच वर्षसम्म आमिरसँग बोलिनन् । उनी शाहरुख खान र अजीज मिर्जासँग मिलेर ड्रीम्ज अनलिमिटेड ब्यानरबाट ‘फिर भी दिल है हिन्दुस्तानी,’ ‘अशोका,’ र ‘चलते चलते’ चलचित्रको निर्माण पनि गरिसकेकी छन् ।