काठमाडौं । आगामी डिसेम्बरमा काठमाडौंमा ‘के-पप टुर इन नेपाल’ले दक्षिण कोरिया, जापान र नेपालको सांस्कृतिक सङ्गमलाई मञ्चमा उतार्दैछ । डिसेम्बर २० र २१ मा दिउँसो १ बजेबाट राति १० बजेसम्म हायात होटेल चल्ने यस विशेष कार्यक्रममा, कोरियाली पप (के-पप), जापानी पप (जे-पप) र नेपाली पप (ने-पप) विधाका कलाकारहरूले आफ्नो विशिष्ट शैलीमा साङ्गीतिक प्रस्तुति दिने बताइएको छ ।
दक्षिण कोरिया र नेपालको ५० वर्ष लामो कूटनीतिक सम्बन्धको उपलक्ष्यमा आयोजना गरिएको यो सांस्कृतिक कार्यक्रमले तीन देशका कलाकारहरूलाई एउटै मञ्चमा ल्याउँदैछ । नेपालका चर्चित कलाकार कुटुम्ब, दीपक बज्राचार्य र करण परियारसँगै, जापान र कोरियाका चर्चित ब्यान्डहरू केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रूप, लभ वन ग्रूप, र सामुराईले आफ्नो आकर्षक प्रस्तुतिहरू देखाउनेछन् । साथै, कोरियाली कलाकारहरू एओनियो मामी र हान सेह्यूनले पनि दर्शकलाई आफ्नो साङ्गीतिक शैलीको अनुभव गराउनेछन् ।
ग्रान्ड च्यारिटी नेपालले आयोजना गरेको यस कार्यक्रमका आयोजकले नेपाली दर्शकहरूले जापानी र कोरियाली साङ्गीतिक शैलीसँगै नेपालका कलाकारहरूको विशिष्ट प्रस्तुतिबाट नयाँ सांस्कृतिक अनुभव लिने विश्वास व्यक्त गरेका छन् ।