काठमाडौं – कार्तिक ३० गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ गीत ‘भगवान् नै आमा हुन्’ सार्वजनिक भएको छ । गीतले आमाको माया, त्याग, र सङ्घर्षलाई मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेको छ । यो गीतमा सत्यराज आचार्यको स्वर र बाबुल गिरीको शब्द तथा सङ्गीत रहेको छ ।
गीतमा अभिनेत्री बिपना थापालाई प्रस्तुत गरिएको छ । १३ वर्षपछि चलचित्रमा ‘कम ब्याक’ गरेकी थापाले यसमा अभिनेता हरिहर अधिकारीको आमाको भूमिकामा अभिनय गरेकी छन् ।
यसअघि यस चलचित्रको ‘उठेर नाचिस्यो’ गीत र ट्रेलरबाट राम्रो ‘हाइप’ निर्माण भएको छ । यस चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका छन् भने कथा हरिहर अधिकारीले लेखेका छन् । पटकथा र संवादमा प्रतीक पौडेल, चन्द्र पन्त, र हरिहर अधिकारीको योगदान रहेको छ । यस फिल्ममा नेपाली र दक्षिण भारतीय कलाकारहरूको आकर्षक मिश्रण छ । नेपाली कलाकारमा बिपनासहित निता ढुङ्गाना, हरिहर अधिकारीलाई प्रमुख भूमिकामा देख्न सकिन्छ भने दक्षिण भारतीय कलाकारमा प्रसिद्ध ब्रह्मानन्दम, कबिर सिंह दुहान र प्रदीप रावत छन् ।
यसको छायाङ्कन बलिउडका प्रसिद्ध छायाकार कबिरलालले गरेका छन् । यो चलचित्र नेपाली मात्र नभएर हिन्दी र तेलुगु भाषामा समेत रिलिज हुँदै छ ।
भिडियो: