काठमाडौं । आर्यन सिग्देल नेपाली चलचित्र उद्योगमा अभिनेताको रूपमा चर्चित नाम हो । उनी अभिनीत पछिल्लो चलचित्र ‘पुजार सार्की’ बक्स अफिसमा सुपर हिट भएको थियो । आर्यन अभिनय मात्र सीमित नभई चलचित्र निर्माणमा पनि सक्रिय छन् ।
उनले पछिल्लो पटक २०७५ सालमा उनले नेतृत्व गरेको निर्माण कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्टले रिजाल एन्ड रिजाल प्रोडक्सनसँगको सहकार्यमा चलचित्र ‘कायरा’ बनाएका थिए । उनको कम्पनीले पहिलो पटक सुवास इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्र ‘नोभेम्बर रेन’ बनाएका थिए । त्यसपछि अर्को चलचित्र ‘क्लासिक’ पनि सुवास इन्टरटेन्मेन्टको सहकार्यमा नै बनाएका थिए । यी दुवै चलचित्रको निर्देशन दिनेश राउतले गरेका थिए र दुवै सुपर हिट भएका थिए ।
अब सिग्देलले एकल निर्माताको रूपमा नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । आर्यन हाल नयाँ प्रोजेक्टका लागि स्क्रिप्ट लेखनमा जुटेका छन् । नगरकोटमा स्क्रिप्ट लेखनको क्रममा खिचिएको एक भिडियो इन्स्टाग्राममार्फत सेयर गरेपछि उनको नयाँ चलचित्रबारे खुलासा भएको हो ।
‘अनटाइटल्ड’ यस चलचित्रको निर्देशन पनि दिनेश राउतले नै गर्ने भएका छन् । बाल सखा समेत रहेका राउतले आफ्नो पहिलो चलचित्र ‘आइ एम सरी’मा आर्यनलाई निर्देशन गरेका थिए । निर्देशक राउतले आर्यनले आफूलाई निर्देशनको लागि प्रस्ताव गरेको र स्क्रिप्ट मन परेकोले काम गर्ने निष्कर्षमा पुगेको बताए । हाल आफूले निर्देशन गर्न लागेको निर्माणाधीन चलचित्र ‘गाउँ रमाइलो’को काम सकिएपछि यो चलचित्रको छायाङ्कन सुरु गर्ने राउतले बताए ।