‘पूर्ण बहादुरको सारङ्गी’का लेखक दवाडीले लेखे विजय बराललाई भावुक सन्देश



काठमाडौं । सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले एक हप्तामा नै ८ करोड माथिको व्यापार गर्दै इतिहास कायम गरेको छ । यस चलचित्रमा अभिनयको लागि सधैँ प्रशंसा पाउने अभिनेता विजय बरालले मुख्य पात्र ‘पूर्ण बहादुर गन्धर्व’को भूमिका निर्वाह गरेका छन् । बरालले यो पात्रबाट अत्यधिक प्रशंसा पाइरहेका छन् ।

यसैबिच यस चलचित्रका लेखक महेश दवाडीले विजय बरालसँगको आफ्नो पुरानो सम्बन्ध र सहकार्यलाई स्मरण गर्दै सामाजिक सञ्जालमा भावुक सन्देश लेखेका छन् । दवाडीले मण्डला थिएटर नजिकको मामाको चिया पसलमा चिया पिउँदै घण्टौँसम्म गफ गरेको समयलाई सम्झँदै, विजयलाई दाजु मान्दै आफ्नो सिर्जनाहरू सुनाउने गरेको उल्लेख गरेका छन् । उनले ‘पूर्ण बहादुरको सारङ्गी’को पटकथा लेख्दा लेखक मात्र नभई भाइको नाताले पनि लेखेको बताएका छन् ।

दवाडीले विजयको अभिनयलाई प्रशंसा गर्दै भनेका छन्, “कसले भन्यो पर्दामा तिमीले अब्बल अभिनय गरेका थियौ भनेर ? त्यो अभिनय नै थिएन । तिमीले त पूर्ण बहादुरको जीवन बाचेका थियौ दाइ ।” उनले विजयको सफलतामा गर्व गर्दै भविष्यमा पनि यस्तै बलिया पात्रहरू सिर्जना गर्न पाउने आशा व्यक्त गरेका छन् ।

दवाडीको सन्देशलाई शेयर गर्दै अभिनेता बरालले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, “डियर भाइ महेश दवाडी, भावुक बनायौ यार । तिमिलाई के भनूँ शब्दै भएन !”

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकहरूलाई भावनात्मक रूपमा छोएको छ । दर्शकहरूले चलचित्र हेरेर हलबाट निस्कँदा आँसु पुछ्दै गरेको दृश्यहरू सामाजिक सञ्जालमा शेयर गरेका छन् । चलचित्रले बाबु–छोराको सम्बन्ध, गन्धर्व समुदायको सांस्कृतिक महत्त्व र सामाजिक सङ्घर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाललगायतका कलाकारहरूको अभिनय रहेको छ । सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्रलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu