काठमाडौं । आगामी मङ्सिर ७ गते रिलिज हुने नेपाली चलचित्र ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक गरिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित यो चलचित्र समाजमा रहेको अन्धविश्वास र ‘बोक्सी’को आरोपसँग जोडिएका समस्याहरूमा आधारित छ ।
दुई मिनेट ३६ सेकेन्डको ट्रेलरमा, एक महिला नाच्दा नाच्दै लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको ठानी समाजले मानसिक यातनाको शृङ्खला सुरु गरेको देखाइएको छ । समाजसेवीको भूमिकामा रहेका प्रकाश घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भन्ने आवाज उठाउँदा, समाजले उनलाई पनि यातना दिने प्रयास गरेको दृश्य ट्रेलरमा समेटिएको छ ।
चलचित्रमा प्रमुख पात्र माइली दमिनीको भूमिका निभाएकी प्रमिला तुलाचनले अनुपमा भण्डारीलाई ‘अञ्जली म तिमीलाई लिन आएको’ भन्दै बोलाएपछि, अनुपमाको त्रासदीपूर्ण अनुहारले ट्रेलरलाई थप मार्मिक बनाएको छ । यो ट्रेलरले बोक्सीको आरोपपछि महिलामा उत्पन्न हुने मानसिक दबाब र समाजको अन्धविश्वासले निम्त्याउने समस्या झल्काउन खोजेको छ ।
चलचित्र ‘अग्नीदहन’का निर्देशक घनश्याम लामिछाने हुन् । उनले ‘मान्छे कोही पनि बोक्सी हुँदैन’ भन्ने सोचलाई देशभरि फैलाउन यो चलचित्र निर्माण गरिएको जानकारी दिएका छन् । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा. निर्मल लामिछाने र तारा बहादुर गुरुङको अभिनय रहेको छ ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानद्वारा निर्माण गरिएको यो चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद छन् भने कोविद शरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन रहेको छ ।
ट्रेलर: