काठमाडौं । करुण थापाले गीतकारको रूपमा नेपाली चलचित्र तथा सङ्गीत उद्योगमा लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । वि.सं. २०४४ सालमा आफ्नो पहिलो गीत रेकर्ड गरेका थापाले चलचित्र ‘सगुन’का लागि सन् २०५४ मा पहिलो पटक चलचित्र गीत लेखेका थिए । आफ्नो गीत लेखन यात्रामा उनले करिब ४०-४५ वटा चलचित्रमा १५० जति गीतहरू रचेका छन् । साथै, एल्बम र व्यक्तिगत सङ्ग्रहमा करिब ७० वटा गीत र गजलहरूको पनि लेखन गरेका छन् ।
थापाका ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेऊ,’ ‘बादल वर्षा बिजुली,’ ‘तिमी छेउ आउँदा,’ ‘कुमारी कुमारी,’ ‘मन दुख्यो रे उनको,’ र ‘घाउ लाग्यो चोट लाग्यो’ जस्ता गीतहरू सर्वाधिक चर्चित छन् । चलचित्र ‘सगुन’को ‘पलपल दिन दिन महिना ऋतुसँगै’ र ‘भन्नै सकिन’ चलचित्रको ‘घाउ लाग्यो चोट लाग्यो’ गीतका लागि थापाले उत्कृष्ट गीतकारको अवार्ड जितेका थिए । उनका गीत र गजलका केही पुस्तकहरू पनि प्रकाशनको तयारीमा छन् ।
सन् २००४ मा चलचित्र ‘कर्तव्य’ का लागि लेखिएको ‘बादल वर्षा बिजुली’ पछि उनले चलचित्रको गीत लेखनबाट विश्राम लिएका थिए । यद्यपि, एल्बम र व्यक्तिगत गीत गजलहरू लेखिरहे पनि उनले २० वर्षपछि चलचित्र ‘मिसिङ् : केटी हराएको सूचना’ मार्फत चलचित्रको गीत लेखनमा पुनरागमन गरेका छन् । यस पटक उनी गीतकारका रूपमा मात्र नभई पहिलो पटक चलचित्रको सङ्गीतकारका रूपमा पनि योगदान गरेका छन् ।
यस चलचित्रका गीतको हालै छायाङ्कन गरिएको भएको छ । गीतकार थापाले श्रोता-दर्शकलाई गीत सुन्न केही दिन प्रतीक्षा गर्न आग्रह गरेका छन् । दीपेन्द्र गौचनद्वारा निर्देशित यो चलचित्र आगामी कार्तिक ३० गते प्रदर्शनमा आउनेछ, जसमा नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको छ ।