काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन्। होटेल याक एन्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुन लागेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शोमा रौटेला शोटपरको रूपमा सहभागी हुन नेपाल आउने आयोजकले बताएको छ ।
नेपाली फेसन उद्योगको प्रवर्धनका लागि आयोजना हुँदै आएको यो शो चौथो सिजनमा प्रवेश गरेको हो । शोमा सहभागी हुन इच्छुक मोडलका लागि आवेदन प्रक्रिया खुल्ला गरिएको छ । आयोजक प्रारम्भ प्रोडक्सनले विज्ञप्ति जारी गर्दै इच्छुक मोडललाई इसेवा एपमार्फत आवेदन फारम भर्ने व्यवस्था गरेको जानकारी दिएको छ । शोमा सहभागी हुन महिला मोडलको लागि न्यूनतम उचाइ ५.४ फिट र पुरुष मोडलको लागि ५.१० फिट हुनुपर्ने मापदण्ड तोकिएको छ ।
प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यका अनुसार शोको मोडल छनौट प्रक्रिया ९ नोभेम्बरमा होटेल हिमालयनमा हुने अडिसनबाट सुरु हुनेछ । अडिसनबाट कुल ३० मोडल (२४ महिला र ६ पुरुष) छनौट गरिनेछ । शोमा छनौट भएका मोडलहरूले नेपाली फेसन उद्योगका उत्कृष्ट डिजाइनरद्वारा तयार गरिएका आकर्षक पहिरनमा र्याम्पमा प्रस्तुति दिनेछन् ।
फेसन शोको उद्देश्य नयाँ र आकर्षक पहिरनको जानकारी फेसनप्रेमीहरुमा पुर्याउनुका साथै नेपाली फेसन डिजाइनरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहित गर्नु हो । कार्यक्रममा व्यवसायी, कलाकार, मोडल लगायत अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।