काठमाडौं । लामो समयदेखि नेपाली फिल्म क्षेत्रबाट टाढा रहेका चर्चित अभिनेता उत्तम प्रधान अब चलचित्र ‘कल्ली’ मार्फत पुनरागमन गर्ने भएका छन् । पछिल्लो पटक केही समयअगाडि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए ।
भारतको सिक्किमका उनले तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ’ (२०५८) बाट अभिनय यात्रा सुरु गरेका थिए । ‘दर्पण छायाँ’ पछि उनले ‘लहना’, ‘मलाई माफ गरिदेऊ’, ‘परे माया जालमा’, ‘बसाई’, ‘मितिनी’ लगायतका चलचित्रमा अभिनय गरे, जसले उनलाई नेपाली चलचित्रमा स्थापित गरायो । प्रधान चलचित्रको हकमा पछिल्लो पटक ‘दर्पण छायाँ २’ मा विशेष भूमिकामा देखिएका थिए। यसपछि उनी लामो समय चलचित्रबाट टाढा रहँदै आएका थिए । प्रधानले हालै ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँ फेरि पनि’ निर्माण गर्ने घोषणा पनि गरेका छन् ।
रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा लक्ष्मण सुनारको निर्देशन तथा किरण नेपालीको निर्माणमा बन्ने चलचित्र ‘कल्ली’मा प्रधान अनुबन्ध हुनु अगावै सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल, र बेनिशा हमालजस्ता कलाकारहरूको प्रवेश भइसकेको छ ।
‘कल्ली’मा महेश दवाडीले पटकथा तथा संवाद लेखेका छन् । यसको प्रदर्शन मिति नयाँ वर्ष २०८२ को अवसर पारेर चैत्र २९ गते तोकिएको छ ।
फोटोः जीवन पराजुली