काठमाडौँ। नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउँदै व्यापारमा नयाँ आयाम थपेको छ। चलचित्रले दोस्रो दिनको मध्याह्नदेखि नै शोहरू हाउस फूल गर्दै दर्शकको अभूतपूर्व साथ प्राप्त गरिरहेको छ। समीक्षक र दर्शकहरूबाट पाइरहेको बलियो वर्ड अफ माउथका कारण देशभरका विभिन्न हलहरूले शो सङ्ख्या समेत बढाएका छन्।
एकाएक दर्शकको चाप बढेपछि चलचित्रको ओपनिङमा दिइएका शो सङ्ख्यालाई हलले बदल्न बाध्य भएका छन्। सुरुवातमा बिहीबार नेपालकै ठुलो हल चेन क्यूएफएक्सले ३८ शो मात्र प्रस्तुत गरेकोमा सोमबार ६४ शो दिइरहेको छ। यसरी मल्टिप्लेक्सहरूमा शो सङ्ख्याको दोब्बर वृद्धि हुनुले यो चलचित्रको व्यापारमा देखिएको प्रगतिलाई इङ्गित गर्दछ। अन्य हलहरूले समेत दर्शकको माग अनुसार मध्यरातसम्म शो थपेका छन्।
‘पूर्ण बहादुरको सारङ्गी’ले शो सङ्ख्यामा नेपालभित्र बलिउडका ठुला मानिएका चलचित्रहरू ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई समेत पछाडि छोडेको छ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको यस चलचित्रमा पात्रहरूको प्रस्तुतिले दर्शकहरूलाई भावनात्मक रूपमा जोड्न सफल भएको देखिन्छ। हलमा चलचित्र हेरिरहेका दर्शकहरू निकै भावुक मुद्रामा देखिएका छन्।
सरोज पौडेलको कथा तथा निर्देशन रहेको यस चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली लगायतको मुख्य अभिनय रहेको छ। विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल हुन्।