चलचित्र ‘एक मुठ्ठी बादल’लाई ६० हजार युरोको ह्युबर्ट बाल्स फन्ड पुरस्कार



काठमाडौं। निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ ले नेदरल्यान्डको प्रतिष्ठित ह्युबर्ट बाल्स फन्डको पोस्ट–प्रोडक्सन अनुदान अन्तर्गत ६० हजार युरो (करिब ८७ लाख नेपाली रुपैयाँ) प्राप्त गर्न सफल भएको छ। यो अनुदानले चलचित्रको पोस्ट–प्रोडक्सन कार्यलाई थप गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

यो चलचित्र ह्युबर्ट बाल्स फन्डबाट अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशकको रूपमा साहारा शर्माले इतिहास रचेकी छिन्। ‘एक मुठ्ठी बादल’ गौँथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह–निर्माणमा बनेको नेपालकै पहिलो महिला–प्रधान अन्तर्राष्ट्रिय सह–निर्मित चलचित्र हो। चलचित्र निर्माणमा नेपालका निर्माता ‘मन प्रोडक्सन’ र ‘अन्डरग्राउन्ड टकिज’ का अनुप पौडेल, सामीप्य राज तिमल्सेना, र कार्यकारी निर्माता निकुन श्रेष्ठको सहभागिता रहेको छ।

विवाहको पृष्ठभूमिमा आधारित यो चलचित्रले समाजमा महिलामाथि लाग्ने परम्परागत अपेक्षाहरू र उनीहरूको स्वतन्त्रताको चाहनाबीचको द्वन्द्वलाई प्रस्तुत गरेको छ। चलचित्रमा निशा शर्मा, शेखर चापागाईँ, आँचल शर्मा, उषा रजक लगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशक साहारा शर्माले यो अनुदानले आफूलाई हौसला दिएको बताउँदै भनिन्, “नेपाली नारीहरूको त्याग, सङ्घर्ष र उनीहरूको अदृश्य योगदानलाई विश्व स्तरमा चिनाउने मेरो प्रयत्नलाई यो पुरस्कारले थप उडान भरेको छ।”

चलचित्रका निर्माता अभिमन्यु दीक्षितले पनि यो पुरस्कारले चलचित्रको अन्तर्राष्ट्रिय सम्भावनालाई मजबुत बनाएको भन्दै चलचित्रलाई २०२६ मा प्रिमियर गर्ने योजना रहेको जनाए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu