काठमाडौं। लक्ष्मीपूजाको अवसरमा चलचित्र ‘सत्यबिर’ को निर्माण औपचारिक घोषणा गरिएको छ। गडरेज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्र एक्शन थ्रिलर जनरामा सामाजिक कथामा आधारित रहनेछ। बिहीबार सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा अभिनेता प्रदीप चौधरीलाई रगतले पोतिएको बन्चरोसहित आक्रामक लुकमा प्रस्तुत गरिएको छ, जसको पृष्ठभूमिमा धरहरासहितको काठमाडौं सहर देख्न सकिन्छ, जसले क्राइम थ्रिलरको सङ्केत दिन्छ।
यो चलचित्र भिएफएक्स तथा एनिमेसनमा एक दशक लामो अनुभव भएका बिराज खड्का डेब्यू निर्देशन हो। खड्काका अनुसार चलचित्रको करिब ४० प्रतिशत दृश्यहरू भिएफएक्समा आधारित हुनेछन्, जबकि बाँकी ६० प्रतिशत दृश्यहरू काठमाडौं, चितवन र तराईका विभिन्न स्थानहरूमा छायाङ्कन गरिनेछ। चलचित्रका निर्मातामा आदेश सुब्बा रहेका छन्। प्रमुख कलाकारको रूपमा प्रदीप चौधरी रहनेछन् भने द्वन्द्व निर्देशकको भूमिकामा हिमाल केसी रहनेछन्।
रङ्गमञ्चमा लामो समयदेखि सक्रिय प्रदीप चौधरी १० वर्षपछि पुनः चलचित्र अभिनयमा फर्किएका छन्। उनले ‘होस्टेल रिटर्न्स’मा निभाएको ‘पिके डन’ भूमिकाले चर्चा कमाएको थियो। हाल मण्डला थियटरमा अभिनय कक्षा सिकाइरहेका चौधरीले थुप्रै नेपाली कलाकारलाई अभिनय कला सिकाएका छन्। ‘सत्यबिर’को कथा पनि चौधरीले नै लेखेका हुन्।