भारतको मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई हत्या गर्ने धम्की दिने र २ करोड रुपैयाँ फिरौती माग्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका ५६ वर्षीय आरोपी आजम मोहम्मद मुस्तफा हुन्, जसले फिरौती मागी ट्राफिक पुलिसलाई धम्कीपूर्ण सन्देश पठाएको बलिउड भास्करले प्रकाशन गरेको छ।
सलमानलाई बारम्बार धम्की आइरहेका कारण उनलाई ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिइएको छ। यो सुरक्षा पछिल्लो धम्कीपछि थप कडा गरिएको हो।
यसअघि २५ अक्टोबरमा सलमान र राजनीतिज्ञ जीशान सिद्दीकीलाई पनि हत्या गर्ने धम्की आएको थियो। यो धम्की दिने अर्का आरोपी मोहम्मद तैयबलाई नोएडाबाट पक्राउ गरेर मुम्बई ल्याइएको छ।
लरेन्स बिश्नोई गिरोहका सदस्यहरूले यसअघि पनि सलमानलाई धम्की दिँदै आएका छन्। उनीहरू सलमानसँग १९९८ मा भएको कालो हरिण सिकार घटनासँग माफी माग्न दबाब दिइरहेका छन्।