काठमाडौं। नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हाललाई स्थगित गरिएको छ। यसअघि कार्तिक २२ गते सार्वजनिक प्रदर्शन गर्ने योजना बनाइएको यो चलचित्र प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ भएको निर्माण टिमले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। चलचित्रको नयाँ प्रदर्शन मिति २०८१ माघ ४ गते तय गरिएको छ।
नविन भट्टको निर्देशनमा तयार भएको यस चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने, रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शङ्कर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतका कलाकारहरूको पनि अभिनय समावेश गरिएको छ। चलचित्रको स्क्रिप्ट निर्देशक भट्ट र सन्दीप श्रेष्ठले तयार पारेका हुन्।
हरर कमेडी जनरामा बनेको यस चलचित्रका निर्माता मनोज कुमार अधिकारी हुन्, जो १५ वर्षपछि पुनः निर्माणमा फर्किएका हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ चलचित्र निर्माण गरेका थिए। सह-निर्मातामा नितिश पुन रहेका छन्। चलचित्रमा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्युजिक, प्रशान्त सिवाकोटीको सङ्गीत तथा अनन्त घिमिरेको सम्पादन समावेश गरिएको छ।