काठमाडौं। लक्ष्मीपूजाको अवसर पार्दै नेपाली कथानक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ देशभर रिलिज भएको छ। गन्धर्व समुदायको पुर्ख्यौली पेसा, उनीहरूको सङ्घर्ष, प्रेम, बिछोड, र शैक्षिक अवस्थालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले गन्धर्व समुदायले समाजमा झेल्नु परेका चुनौतीहरू उजागर गरेको छ। यसमा समाजले गन्धर्व समुदायप्रति गर्ने व्यवहार र एक पिताले आफ्नो छोरालाई ठूलो मान्छे बनाउन गरेको सङ्घर्षलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।
‘पूर्ण बहादुरको सारङ्गी’लाई रिलिजको पहिलो दिन बिहीबार नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले३८ शो दिएको थियो। दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजका तीन वटा आउटलेटमा ९ शो, वान सिनेमाजका दुई वटा आउटलेटमा ६, एफक्यूबमा ३, र बिग मुभिजमा पनि ३ शो राखिएको थियो।
सरोज पौडेलको कथा र निर्देशनमा बनेको यस चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, र प्रकाश सपूत मुख्य भूमिकामा छन्। बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, र जान्वी पौडेलले पनि सशक्त अभिनय प्रस्तुत गरेका छन्।
चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, र मेलिना राई, पुष्पन प्रधान, तथा प्रशान्त सिवाकोटीको स्वर समावेश गरिएको छ। चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल छन्।