अपराधलाई हसियाले काट्न सक्छ: मिलन चाम्स



milan-chams

चलचित्र चल्ने होडबाजी भइरहँदा पछिल्लो समय ‘हँसिया’को चर्चा बढ्दो छ । डेब्यू निर्देशक मिलन चाम्स तथा डेब्यू नायिका हेमा श्रेष्ठको कामलाई राजेश हमालले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् । यो चलचित्रमा राजेशको पनि प्रमूख भुमिका छ । हमालले पाँच पटक यो चलचित्र हेरिसकेका छन् । उनले यसरी आफ्नै चलचित्रलाई पटकपटक हेरेको सायदै पहिलोपटक हो । यसै चलचित्रबारे अन्य केहि चर्चा समेत चले । निर्देशक र हेमाको सम्बन्ध, हेमाकै लागि बनेको चलचित्र तथा हेमाले दिएको धोकाको बारेमा बजारमा बिभिन्न चर्चा रहेका छन् । हेमाले प्रचार-प्रसार लत्याएर अबुधावीमा एयर होस्टेस् बन्न गएपछि थप प्रोपोगाण्डा भइरहेका छन् । यसै बारेमा ठुलोपर्दा डटकमका जिवन पराजुलीले निर्देशक मिलन चाम्ससँग कुराकानी गरेका छनः

१. तपाईँ चलचित्र क्षेत्रमा आउनुको कारण के हो ?
मेरो सानैदेखीको लगाव र म्यूजिक भिडियो निर्देशनको अनुभवको कारण चलचित्रमा आएँ । दश बर्षदेखी मैले म्यूजिक भिडियो निर्देशन गर्दै आएको छु । अनुभवको आधारमा अब चलचित्र निर्देशन गर्न सक्छु भन्ने आधारले चलचित्र क्षेत्रमा आएको हुँ ।

२. बहिनीको लागि भनेर ‘हसिया’ बनाएको भन्ने हल्ला सत्य हो ?
बहिनीको लागि भनेर नै चलचित्र बनाएको भन्ने हल्ला पूर्णरुपमा गलत हो । बहिनिको लागि, गर्लफ्रेण्डको लागि भनेर चलचित्र बनाउने नै होइन नि । बहिनीको लागि ‘हसिया’ बनाएको भन्ने समाचारलाई गलत ढंगबाट प्रचार गरिएको छ । म सबैलाई सकारात्मक सोच्ने मान्छे, बजारमा हल्ला सुनिन्छ फलानो केटीलाई गर्लफ्रेण्ड बनाएर हिरोईन बनायो रे, हिरोइनसँगै लभ पर्योा रे । मेरो केशमा पनि हल्ला नै चल्यो । रिलेशनको आधारमा कदापी पनि चलचित्र बनाईँदैन । ‘हसिया’ हेरिसकेपछि प्रमाणित हुन्छ, बहिनीको लागि बनाएको रहेछ की हेमा श्रेष्ठको ट्यालेन्सी देखेर बनाएको रहेछ । यो चलचित्रमा हेमा श्रेष्ठले बाहेक कुनै पनि हिरोइनले काम गर्न सक्दैन । त्यो फिट भएर मैले हेमालाई मूख्य पात्र बनाएको हो । बहिनीको रिलेशनले बहिनीको लागि चलचित्र बनाएको भन्ने सरासर गलत हो ।

३. म्यूजिक भिडियोमा हेमासँग कतिवटा प्रोजेक्टमा काम गर्नुभयो ?
त्यस्तै छ – सात वटा गरेँ होला । म्यूजिक भिडियोमा हेमा श्रेष्ठलाई मात्र लिन्छ भन्ने मलाई एउटा आरोप पनि लागेको थियो तर त्यो कदापी होइन । मैले झण्डै डेढ सय म्यूजिक भिडियो गरेँ, त्यसमध्ये हेमालाई जम्मा छ – सात वटामा अभिनय गराएको छु । यति त सामान्य नै हो नि ।

४. हेमामा त्यस्तो के क्षमता छ, जसलाई तपाईँले नायिका बनाउनुभयो ?
हेमा मार्शल आर्टको प्लेयर हो । पहिलो कुरा, एक्शन चलचित्रको लागि त्यो भन्दा राम्रो के हुन सक्थ्यो र । दोश्रो कुरा उनि आँफैमा कला भएकी मान्छे हुन्, अभिनय सिकेर चलचित्रमा आएकी छन् र तेश्रो कुरा हेमा राम्री पनि छन् । त्यसकारण हेमालाई ‘हसिया’मा नायिका बनाईएको हो ।

५. ‘हसिया’ले के बोल्छ ?
मैले चलचित्र बनाएको मनोरञ्जनको लागि हो । ‘हसिया’ले सबैभन्दा पहिला मनोरञ्जन दिनेछ । सामाजिक अपराधलाई कुनै दिन हसियाले पनि काट्न सक्छ भन्ने सन्देश पनि यो चलचित्रले दिन्छ । तर, मूख्य कुरा चाहिँ मनोरञ्जन नै हो ।

६. घरेलु हतियार हसियालाई चलचित्रको शिर्षक बनाउनुको अर्थ के हो ?
यो एउटा सिरियल किलरले बोक्ने हतियार हो । अहिले नै सबै कुरा भन्यो भने मजा आउँदैन । प्रोमो हेर्दा नायिकाले कसैलाई मार्नको लागि हसिया प्रयोग गरेको जस्तो देखिन्छ तर चलचित्रमा वास्तविकता त्यो हुदैन । चलचित्रमा सस्पेन्स श्रृजना होस् भनेर प्रोमो त्यस प्रकारको बनाईएको हो । चलचित्र हेरिसकेपछि यो चलचित्रको नाम हसिया नै हुनुपर्ने रहेछ भन्ने प्रष्ट हुन्छ ।

Hasiya
७. चलचित्रमा नयाँ र पुराना कलाकारहरुको संयोजन कसरी गर्नुभएको छ ?
चलचित्रमा राजेश हमालको आफ्नै प्रकारको चरित्र छ । हेमा श्रेष्ठको आफ्नै प्रकारको छ । अनुपको पनि छुट्टै प्रकारको छ । तीनजना छुट्टाछुट्टै चरित्रमा रहेका छन् । तीनै जना उत्तिकै शसक्त भुमिकामा छन् । त्यो क्यारेक्टरमा राजेश हमाल बाहेक अरु कोहि पनि फिट हुँदैनथिए त्यसैगरी अनुप र हेमाको सवालमा पनि त्यहि नै हो । नयाँ पुरानो मिक्स गरेर काम गर्दा झन मजा हुने रहेछ ।

८. हतपत चलचित्रको प्रचारमा नहिड्ने राजेश हमाल ‘हसिया’लाई बोकेरै हिड्नुभा’छ । कसरी सम्भव भयो ?
कलाकार भइसकेपछाडी सम्पूर्ण चलचित्रलाई समय मिलाउनुपर्छ भन्ने मेरो मान्यता हो र उहाँको पनि त्यहि हो । मैले उहाँलाई कुरा बुझाउन सकेँ सायद अरुले सक्नुभएन होला । पच्चीस बर्षको इतिहासमा मैले उहाँलाई जुन किसिमको क्यारेक्टरमा ल्याएको छु सायदै यो भन्दा अगाडी कुनै पनि निर्देशकले दिएको थिएन । त्यो हिसाबले पनि हुनुपर्छ । उहाँले ‘हसिया’ पाँच पटक हेरिसक्नुभयो । करिव तीन सय चलचित्रमा यो पहिलो रेकर्ड हो । त्यो बाहेक उहाँको र मेरो व्यक्तिगत सम्बन्ध पनि हुनसक्छ ।

९. हेमालाई हिरोइन बनाउनुभयो, ठुलै मौका दिनुभयो तर रिलिजकै बेला विदेश लागेर उहाँले नै तपाईँलाई धोका दिईन् नि, के कुरा मिलेन तपाईँहरुको ?
व्यक्तिगत जिवनमा आफ्नो भबिष्य निर्माणको लागि हरेकलाई आफ्नै हक छ । तर मेरो चित्त दुखाई कहाँनेर हो भने आठ महिना तालिम गराएर जुन चलचित्र बनाएँ यसबाट यस्तो राम्रो चर्चा र उचाई हुँदाहुँदै पनि उहाँ विदेशिनु भनेको उहाँकै भाग्य जानु हो जस्तो महशुस मैले गरेको छु । यो बेलामा मलाई सहयोग गर्नुपर्थ्यो । जसलाई आफ्नो ठानेर कुनै कुरामा पनि कम्परमाईज गरिन मैले । अहिले चटक्क छोडेर जाँदा मेरो आफ्नो चित्त दुखाई चाहिँ हो । हिजो हेमा श्रेष्ठ कुन पोजिसनमा थियो र आज कहाँ छ र भोली के हुन्छ भन्ने चलचित्र हेरिसकेपछाडी दर्शकले मुल्यांकन गर्नुहुनेछ । यति हुँदा-हुँदै पनि धोका दिएर जानेलाई के भन्ने ? कुरा नमिलेको भन्ने कुरै आएन यहाँ, मेरो विचारमा उनि अलि बढि अतालिएको जस्तो लाग्यो । मैले पटक-पटक के भनेको थिएँ भने ‘तिमी को हौ भन्ने कुरा तिमी आँफैले चिनेको छैनौ, आफुलाई चिन्नु जरूरी छ ।’ उसलाई जहिले पनि उत्साहित बनाउँथे । यति हुँदा-हुँदै पनि अतालिएर एयर होस्टेस् हुन जानु भनेको उसले आँफैलाई नचिनेर होला । उनले जागिर पाउनुमा पनि हसियाको ठुलो भूमिका छ । जब उनले आवेदन दिइन् त्यसपछि अन्तर्वाताको क्रममा अहिलेको प्रोफेशन सोधियो । त्योबेला अभिनेत्री भनेपछि प्रमाण हेर्न खोजियो । ‘हसिया’को ट्रेलर हेरेपछि तुरुन्तै पास भइन् । उनले अफिससँग कुरा गरेर ‘हसिया’ रिलिज पछाडी मात्रै आउँछु भनेको भए सबैलाई फाइदा हुने थियो ।

१०. बहिनी बनाएर धोका भयो गर्लफ्रेण्ड बनाउँछु भन्नुभो भन्ने हल्ला पनि भयो । यो कुरा खास के हो ?
यो मैले भनेको होइन, राजेश हमालले हो । पत्रकार सम्मेलनमा बोल्ने क्रममा राजेशले मलाई व्यंग्य गर्दै अब गर्लफ्रेण्ड बनाउनुस् भन्नुभएको थियो तर मिडियामा मैले भनेको भन्ने हल्ला आयो । जसको कारण मलाई व्यक्तिगत जीवनमा पनि अप्ठेरो पर्यो । हेमा कै सन्दर्भमा राजेशले ठट्टा गरेको कुरालाई मैले नै भनेको भनि व्यापक बनाईयो जुन गलत छ ।

११. अन्त्यमाः
‘हसिया’ विदेशमा मन पराईसक्नु भएको छ । नेपालमा के हुन्छ थाहा छैन । हसियालाई हेरिदिनुस् । यसलाई मात्र होइन यो सँगै रिलिज हुने अरु चलचित्र पनि हेरिदिनुस् । हामीले आफ्नो नेपाली चलचित्र हेर्नु आवश्यक छ । नेपाली चलचित्रलाई नेपाली मनले हेरिदिनुस् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu