ह्रस्व दीर्घ: १७ वर्षपछि बिपना थापाको कमब्याक, नेपाली-भारतीय चलचित्र जोड्ने पुल



काठमाडौं। नेपाली चलचित्र उद्योगको स्वर्णिम दशक ९० को समयका चर्चित अनुहारहरूमध्ये एक अभिनेत्री बिपना थापा नेपाली सिनेमा जगतमा ‘कमब्याक’ गर्दै छिन् । कुल १ सय ११ नेपाली चलचित्रमा अभिनय गरी आफ्नो छाप छोडेकी बिपनाको नाम नेपाली सिनेमा क्षेत्रको एक प्रमुख अभिनेत्रीका रूपमा अझै पनि चर्चित छ । चलचित्र ‘वरमाला’ पछि चलचित्र दुनियाँबाट अलग्गिएकी उनी करिब १७ वर्षको अन्तरालमा थापा कार्तिक ३० गते प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’बाट आफ्नो पुनरागमन गर्दै छिन् ।

सन् २००८ मा भारतको मथुराका आशुतोष भारद्वाजसँग विवाहपछि बिपना थापा परिवारसँग समय बिताउन थालेकी थिइन् । आशुतोष एमबिबिएस पढ्न काठमाडौं आएका थिए र नेपाल मेडिकल कलेज अगाडि पट्टि रहेको निर्माता आनन्द ढकालको घरमा बसिरहेका थिए । सोही क्रममा उनी ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको चलचित्र ‘वरमाला’मा सह-निर्माता बने । ‘वरमाला’मा बिपना ‘कास्ट’ भइन् । सो क्रममा भएको भेटले उनीहरूको बीचमा प्रेम सम्बन्धको सुरुवात गरायो ।

विवाहपछि पनि थापालाई चलचित्रका लागि निरन्तर प्रस्तावहरू आउँथ्यो, तर घरपरिवारलाई प्राथमिकतामा राख्दै थापाले सिनेमा उद्योगबाट टाढा बस्ने निर्णय लिइन् । उनले घरपरिवार रोज्नुको कारण बारे भनेकी थिइन्, “कलाकारले अभिनय त पछि पनि गर्न सक्छ, तर त्यति बेला मैले मेरो परिवारलाई समय दिने निर्णय गरेँ ।”

१४ वर्षको उमेरमै निर्देशक मोहन निरौलाले चलचित्र ‘जन्मभूमि’मा अभिनयको अवसर दिएपछि बिपना थापाले चलचित्र क्षेत्रको प्रवेश गरिन् । करियरको पहिलो वर्षमै उनले ६ वटा चलचित्रमा अभिनय गर्दै ‘बिजी अवार्ड’ जितिन् र त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । यसरी उनले ९० को दशकभर नेपाली चलचित्र उद्योगमा एक स्थापित अभिनेत्रीको रूपमा आफ्नो पहिचान बनाएर दर्शकहरूको मनमा अमिट छाप छोडिन् ।

बिपना १७ वर्षपछि निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिन लागेकी छिन् । यो चलचित्रमा प्रमुख भूमिकामा हरिहर अधिकारी र नीता ढुङ्गाना छन् भने भारतबाट ब्रह्मानन्दम, कबिर दुहान सिंह, र प्रदीप रावत जस्ता अनुभवी कलाकारहरूको समेत अभिनय रहेको छ । हालै काठमाडौंमा आयोजित पत्रकार थापाले भनिन्, “यो चलचित्रको भूमिकाले मेरो कमब्याकलाई अर्थपूर्ण बनाएको छ, किनकि यो नेपाली र भारतीय सिनेमा बीचको सेतुका रूपमा काम गर्न सक्छ ।”

‘ह्रस्व दीर्घ’बाट कमब्याकबारे थापाले आफ्नो अनुभव बाँड्दै भनिन्, “म पहिले पनि आफूलाई नायिका भन्दा पनि कलाकार भन्न रुचाउने मान्छे हुँ । कलाकारले भूमिका मन पर्‍यो भने जस्तोसुकै क्यारेक्टरमा आफूलाई भिजाउन र निभाउन सक्छ । यस चलचित्रमा मेरो भूमिका निकै गहिरो र अर्थपूर्ण छ, जसले समाजलाई सकारात्मक सन्देश पुर्‍याउने विश्वास छ ।”

थापाले चलचित्र ‘ह्रस्व दीर्घ’का सह-कलाकारहरूसँगको सहकार्यबारे पनि आफ्नो अनुभव सुनाइन् । “भारतका कलाकारहरूसँग काम गर्दा मैले अत्यन्त सहजता महसुस गरेँ । प्रदीप रावत, ब्रह्मानन्दम र कबिर दुहान सिंह जस्ता कलाकारहरूसँग काम गर्दा पनि आफ्नै नेपाली कलाकारहरूसँग काम गरेको जस्तै महसुस भयो । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने मेरो सपना यस चलचित्रसँग जोडिएको छ,” थापाले बताइन् ।

बिपना थापा आफ्नो पुनरागमनमा निकै उत्साहित छिन् र यो चलचित्रमार्फत पुनः दर्शकको माया र साथ पाउने आशा राख्छिन् । उनले यस चलचित्रलाई आफ्नो पुरानो सपना साकार पार्ने माध्यमको रूपमा लिएको बताइन् । पत्रकार सम्मेलनमा थापाले भनिन्, “एक कलाकारका रूपमा हामीले समाजमा सकारात्मक सन्देश दिन जरुरी छ । मैले यो भूमिका मन परेँ किनकि यसले समाजमा परिवर्तन ल्याउन सक्छ ।”

यो चलचित्रमा बलिउड सिनेमाटोग्राफर कबिरलालले छायाङ्कन गरेका छन्, जसले चलचित्रको दृश्य प्रभावलाई अझ निखार्ने अपेक्षा गरिएको छ । भारत र नेपालका कलाकार र प्राविधिकहरूको सहकार्यबाट निर्मित यो चलचित्रले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

फोटो: द सिनेमा टाइम्स

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu