काठमाडौं। नेपाली चलचित्र ‘जेरी अन टप’को छायाङ्कन सुरु गरिएको छ। ललितपुरको पाटनस्थित बङ्गलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सोमबारबाट सुरु भएको हो।
शुभ साइतको अवसरमा आयोजित कार्यक्रममा चलचित्रको ‘कास्ट एन्ड क्रू’ सहभागी भए। अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको निर्माणमा बनिरहेको यो चलचित्रमा दीपक भण्डारी, रोबिन शेरचन, र रामकृष्ण श्रेष्ठले लगानी साझेदारी गरेका छन्। कार्यकारी निर्माताको भूमिकामा ईश्वर श्रेष्ठ र अनिरुद्र गिरी रहेका छन्, भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माता हुन्।
सुयोग गुरुङको निर्देशनमा बन्ने यस चलचित्रको कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा विश्व तिमिल्सिनाले तयार पारेका छन्। छायाङ्कन उज्ज्वल जोशीले गर्नेछन् भने सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन्।
चलचित्रमा युवा स्टार अनमोल केसीले मुख्य भूमिका निभाउने छन्। उनका पिता भुवन केसीले पनि फिल्ममा अनमोलको बुवाकै भूमिका निर्वाह गर्दैछन्। अन्य प्रमुख कलाकारहरूमा जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, बिपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, सङ्गीता मगर, र सुष्मा निरौला लगायत रहेका छन्।
मुहूर्त कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफूलाई सधैँ उत्कृष्ट फिल्ममा काम गर्न रुचि रहेको र ‘जेरी’को कथावस्तुले आफूलाई आकर्षित गरेको बताए। निर्माता न्यौपानेले तीन वर्षको मेहनतपछि फिल्म फ्लोरमा ल्याएको र यसलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए।
छायाङ्कनको लागि ६० दिनको तालिका सहित काठमाडौं, लुक्ला र भारतको लद्दाखलाई छायाङ्कन स्थलको रूपमा चयन गरिएको छ।