काठमाडौं। चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो तालिकाको छायाङ्कन पूरा भएको छ। दसैँपछि सुरु भएको छायाङ्कनको पहिलो चरण काठमाडौं र काभ्रेको पाँचखालमा १२ दिनमा सम्पन्न भएको हो।
निर्माता रौनक विक्रम कँडेलका अनुसार चलचित्रको दोस्रो चरणको छायाङ्कन तिहारपछि कार्तिक २२ गतेबाट बारामा सुरु हुनेछ, र केही दृश्यहरू चितवनमा पनि छायाङ्कन गरिनेछन्। पहिलो तालिकामा टोलीले उत्साहजनक अनुभव बटुलेको निर्माता कँडेलले बताए।
२०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को यो सिक्वेलमा मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, र कामेश्वर चौरासिया छन्। विनय र कामेश्वरले अघिल्लो भागमा पनि अभिनय गरेका थिए भने सिक्वेलमा सुपुष्पा भट्टको नयाँ प्रवेश भएको छ। यस पटक निर्देशकको रूपमा निरोज महर्जन छन्, जबकि अघिल्लो भागलाई प्रणव जोशीले निर्देशन गरेका थिए।
चलचित्रमा विनय, कामेश्वर, र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर बाङ्देल, रवीन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, र मेक्सम गौडेलको अभिनय रहनेछ। यस प्रोजेक्टका कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्माता एनी थापा छन्।