काठमाडौं। हरर कमेडी नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ट्रेलरले यसको कथावस्तुमा प्रकाश पार्दै, दर्शकलाई हँसाउने र तर्साउने दुवै तत्त्व समेटेको सङ्केत गरेको छ। यो चलचित्र छठ पर्वको अवसर पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदै छ।
ट्रेलरमा एक गाउँमा विभिन्न पेसामा संलग्न चार युवाको जीवनमा एक युवतीको आगमनले ल्याएको रोचक परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलरको अन्त्यमा युवतीलाई भूतको रूपमा देखाउने प्रयास गरिएको छ।
‘जुलेबी’ फेम्ड निर्देशक नवीन भट्टको निर्देशनमा बनेको यस चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन्। चलचित्रमा रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शङ्कर सेढाई, सूर्यमान लिम्बू, र पुष्प अवस्थी लगायतका कलाकारहरूको अभिनय छ। निर्देशक भट्ट र सन्दीप श्रेष्ठले चलचित्रको स्क्रिप्ट तयार पारेका हुन्।
चलचित्रका निर्माता मनोज कुमार अधिकारी १५ वर्षपछि निर्माणमा फर्किएका हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ निर्माण गरेका थिए। सह-निर्मातामा नितिश पुन रहेका छन्।
चलचित्रमा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्युजिक, प्रशान्त सिवाकोटीको सङ्गीत, र अनन्त घिमिरेको सम्पादन रहेको छ।
ट्रेलर: