काठमाडौंमा पाँचौँ सिजनको ‘फेस अफ क्लासिक डायमन्ड’ हुने



काठमाडौं। नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले पाँचौँ सिजनको ‘फेस अफ क्लासिक डायमन्ड’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लासिक डायमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा उक्त प्रतियोगिता सम्पन्न हुने जानकारी गराए।

प्रतियोगितामा उत्कृष्ट मोडलले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन्। यसका साथै, विजेताले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागिताका लागि आजदेखि नै रजिस्ट्रेसन खुला गरिएको छ। विगतका प्रतियोगितामा साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, र मुना गौचनले बलिउडमा आफूलाई स्थापित गराइसकेको अध्यक्ष महर्जनले बताए।

क्लासिक डायमन्ड गहना व्यवसायसँग सम्बन्धित भए पनि यस कार्यक्रमले नेपालको फेशन र मोडलिङ क्षेत्रलाई प्रवर्द्धन गर्दै आएको महर्जनले उल्लेख गरे। उनले यस पटक पनि प्रतियोगिताका लागि काठमाडौं र पोखरामा अडिसन गरिने जानकारी दिए। अडिसनपछि छनोट भएका मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिने योजना रहेको क्लासिक डायमन्डका प्रबन्ध निर्देशक अमिर महर्जनले बताए।

क्लासिक डाइमन्डले अमेरिकामा समेत तीन वटा आउटलेट सञ्चालन गरिरहेको छ। अमेरिकामा रहेका नेपाली मोडलहरूबीच पनि अडिसन लिने तयारी गरिएको छ, जहाँबाट दुई जना मोडललाई नेपाल ल्याएर प्रतिस्पर्धामा उतारिनेछ। क्लासिक डायमन्डका अमेरिका संयोजक समीर महर्जनले यो प्रतियोगितामा सहभागी हुने अमेरिकी नेपाली मोडलहरूको विशेषता औँल्याउँदै भने, ‘अरूले नेपालबाट मोडलहरूलाई अमेरिका पठाउँछन्, तर हामीले अमेरिकाबाट नेपाल पठाउँछौँ।’

प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार रुपैयाँ, फस्ट रनरअपले १ लाख रुपैयाँ, र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। उनीहरूले क्लासिक डायमन्डका विभिन्न परियोजनामा पनि काम गर्ने अवसर पाउनेछन्। आगामी माघ ४ र ५ गते काठमाडौंमा हुने क्लासिक डायमन्ड ग्रान्ड फेशन तथा ज्वेलरी शोमा ‘फेस अफ क्लासिक डायमन्ड’का विजेताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेको छ। प्रतियोगिताको कोरियोग्राफी बलिउडका प्रसिद्ध कोरियोग्राफर रेहान शाहले गर्नेछन्।

पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले ‘फेस अफ क्लासिक डायमन्ड’ प्रतियोगिताले नेपालमा धेरै उत्कृष्ट मोडलहरूलाई यो क्षेत्रमा ल्याएको बताइन्। त्यस्तै, अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि प्रतियोगितासँग जोडिन पाउँदा खुसी व्यक्त गरिन्। अन्तर्राष्ट्रिय मोडल सविता कार्कीले पनि यस प्रतियोगितासँगको आफ्नो अनुभव बाँड्दै, यसले नयाँ मोडलहरूलाई निखारेर फेशन क्षेत्रमा अघि बढ्न मद्दत गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu