४५ वर्षमा प्रभास: ‘बाहुबली’को लागि विवाह नै रद्द, १५० करोड पारिश्रमिक



काठमाडौं। बुधवार भारतीय सुपरस्टार प्रभासले आफ्नो ४५औँ जन्मदिन मनाएका छन्। २३ अक्टोबर १९७९ मा चेन्नईमा जन्मेका प्रभासको पुरा नाम उप्पलापती वेंकट सूर्यनारायण प्रभास राजु हो। उनी एक चलचित्र परिवारबाट आएका हुन्। उनका पिता उप्पलापती सूर्यनारायण दक्षिण भारतीय चलचित्रका प्रख्यात निर्माता हुन् भने उनका काका कृष्णम राजु पनि तेलुगु चलचित्रका सुपरस्टार हुन्। प्रभास तीन जना भाइ-बहिनीहरूमध्ये कान्छा हुन्।

प्रभासले आफ्नो करियरको सुरुवात सन् २००२ मा ‘ईश्वर’ नामक चलचित्रबाट गरेका थिए। सुरुमा व्यवसायी बन्ने इच्छा भए पनि परिवारको दबाबले उनलाई चलचित्र क्षेत्रमा तान्यो। सुरुका केही चलचित्रहरू सामान्य रहे पनि सन् २००४ मा आएको ‘वर्षम’ चलचित्रले प्रभासलाई दक्षिण भारतीय चलचित्र उद्योगमा स्थापित गरायो। सन् २००५ मा एसएस राजामौलीको चलचित्र ‘छत्रपति’मा काम गरेपछि उनी दक्षिण भारतीय चलचित्रको स्टारको रूपमा उभिए।

उनको करियरको ठुलो मोड भने सन् २०१५ मा आएको चलचित्र ‘बाहुबली’ बन्यो। ‘बाहुबली’को लागि उनले पाँच वर्ष कुनै पनि अर्को चलचित्रमा काम नगरी आफ्नो सम्पूर्ण समय समर्पित गरे। उनी एक पटकले भनेका थिए, “बाहुबलीका लागि म पाँच त के, सात वर्ष पनि समर्पण गर्न तयार थिएँ।” यो चलचित्रले उनलाई पहिलो ‘प्यान-इन्डियन स्टार’ बनायो।

प्रभासको व्यक्तिगत जीवन सधैँ चर्चामा रहने गरेको छ। सन् २०१२ मा, प्रभासको आमाले उनलाई विवाह गर्न दबाब दिइन्, र उनी पनि सहमत भएका थिए। तर, सोही समयमा निर्देशक एसएस राजामौलीले उनलाई ‘बाहुबली’ चलचित्रको प्रस्ताव गरे र पाँच वर्षको समय मागे। प्रभासले विवाहको योजना रद्द गर्दै यो चलचित्रमा काम गर्ने निर्णय गरे।

उनको नाम धेरै पटक सह-कलाकारहरूसँग जोडिएको छ। विशेष गरी, ‘बाहुबली’ को-स्टार अनुष्का शेट्टीसँग उनको अफेयरको चर्चा व्यापक भयो। अनुष्का र प्रभासले ‘बिल्ला’ र ‘मिर्ची’ जस्ता चलचित्रहरूमा सँगै काम गरेका थिए। तर, दुवैले यी अफवाहलाई खारेज गरेका छन्।

भर्खरै, ‘आदिपुरुष’ मा सह-कलाकार कृति सेननसँग पनि उनको नाम जोडिएको थियो, तर यो पनि महज अफवाह साबित भयो। प्रभासले आफ्नो व्यक्तिगत जीवनलाई मिडियामा नल्याउने नीति अपनाएका छन्, जसले गर्दा उनको प्रेम जीवनबारे थोरै जानकारी मात्र बाहिर आउँछ।

प्रभासले आफ्नो करियरको सुरुवातमा ७ एक्सन चलचित्रहरूमा काम गरेका थिए। ‘बाहुबली’ पछि उनी साउथका मात्र नभई भारतभरका सुपरस्टार बने। यो चलचित्रको रिलिज पछि उनलाई ६ हजार विवाह प्रस्तावहरू प्राप्त भएका थिए।

प्रभासको शारीरिक रूपान्तरण पनि प्रेरणादायी छ। ‘बाहुबली’ को अमरेन्द्र बाहुबलीको भूमिका निभाउनका लागि उनले आफ्नो तौल १ सय ५ किलोसम्म बढाए। त्यसपछि, शिवडूको भूमिका लागि १९ किलो घटाएर ८६ किलो पुगे। यसका लागि निर्माताले उनलाई डेढ करोडको जिम उपकरणहरू पनि किनिदिएका थिए।

‘बाहुबली’ पछि प्रभासलाई थुप्रै विज्ञापन प्रस्तावहरू आउन थाले। तर, उनले आफ्नो नैतिकताको कारणले फेयरनेस क्रिमको १८ करोडको विज्ञापन अस्वीकार गरे। उनले भनेका थिए कि यस्ता क्रिमहरूको प्रचार गर्नु आफ्नो नैतिकताविरुद्ध छ। त्यति बेला यो निर्णयले निकै चर्चा पायो, र यसले प्रभासलाई अझ धेरै सम्मानित बनायो।

‘बाहुबली’ पछि पनि प्रभासको करियरमा उतारचढाव आए। ‘साहो’, ‘राधे श्याम’ जस्ता चलचित्रहरू बक्स अफिसमा असफल भए, तर सन् २०२३ मा रिलिज भएको ‘सालार’ र सन् २०२४ को चलचित्र ‘कल्कि’ले प्रभासलाई पुनः शीर्ष स्थानमा ल्याएको छ।

उनले हाल प्रतिचलचित्र १ सय ५० करोड भारतीय रुपैयाँ चार्ज गर्छन्, जुन भारतीय सिनेमा उद्योगका सबैभन्दा महँगा अभिनेताहरू मध्ये एक बनाउँछ।

  • जानकारी स्रोत: दैनिक भास्कर
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu