राजबल्लभले अमेरिकामै गरे ‘एक्टर: टेक वन’को डबिङ



काठमाडौँ। अभिनेता राजबल्लभ कोइरालाले नेपाली चलचित्र ‘एक्टर: टेक वन’को आफ्नो डबिङ अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा सम्पन्न गरेका छन्। सुप्रसिद्ध पप गायक राजु लामाको आरएल स्टुडियोमा भएको डबिङको बारेमा कुरा गर्दै करिब एक दशकपछि नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गर्दै गरेका कोइरालाले आफ्नो भूमिका थप सशक्त बनाउने यो महत्त्वपूर्ण प्रक्रिया अमेरिकामै सम्पन्न गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

राज बल्लभको भनाइमा, स्टुडियोमा भएका नयाँ प्रविधिहरूले उनलाई नेपालमै रहेको जस्तो सहज अनुभव दिलाएको छ। निर्देशक राजन भुसालको सहकार्यका कारण यो डबिङ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको उनले बताए।

राज बल्लभको‘’एक्टर: टेक वन’बाट करिब १० वर्षपछि नेपाली चलचित्रमा पुनरागमन हुँदैछ। चलचित्रको हालै सार्वजनिक गरिएको टिजरमा उनलाई निकै स्टाइलिश र फरक भूमिकामा देखाइएको छ, जसलाई दर्शकहरूले अत्यधिक रुचाएका छन्। यस चलचित्रमा उनले निभाएको भूमिकालाई दर्शकहरूले विशेष रूपमा हेर्ने अपेक्षा गरिएको छ।

चलचित्रमा अन्य मुख्य कलाकारहरूमा सुपरस्टार प्रदीप खड्का, अभिनेत्री आना शर्मा, नव आगन्तुक दिव्या रायमाझी, अभिनेता दिव्य देव, सुशील सिटौला, उषा रजक लगायतको पनि प्रमुख भूमिका रहेको छ। चलचित्रको निर्माण अदृत फिल्म्स र मोती फिल्म्सको ब्यानरमा भएको छ। थमन कुमार भण्डारी चलचित्रका निर्माता हुन् भने मोती कार्की यसका क्रिएटिभ निर्माता रहेका छन्। सह-निर्माता अनीश भुसाल रहेका छन्।

‘एक्टर: टेक वन’ आउँदो माघ १६ गते विश्वव्यापी रूपमा रिलिज हुने तयारीमा छ। यो चलचित्रले नेपाली सिनेमा उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ भने राजबल्लभ कोइरालाको यो पुनरागमन दर्शकहरूका लागि उत्साहजनक हुने विश्वास गरिएको छ। चलचित्रको टिजरले नै दर्शकहरूलाई ठूलो उत्सुकता पैदा गरेको छ।

त्यस्तै, यही चलचित्रबाट रजत पटमा डेब्यु हुन लागेकी दिव्या रायमाझीको पनि चलचित्र रिलिज अगावै व्यापक चर्चा छ। उनी अभिनेता दिलीप रायमाझीकी छोरी हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu