मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव



काठमाडौं। हिमाली जिल्ला मुस्ताङमा आगामी अक्टोबर १८ देखि २४ (कार्तिक २ देखि ८) सम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुँदैछ। यो महोत्सव प्रकृति, संस्कृति र सृजनशीलताको उत्सवको रूपमा मनाइने छ। आयोजक ट्रिपल पी गुरुङका अनुसार, मुस्ताङको पारम्परिक सङ्गीत, नृत्य र सांस्कृतिक सम्पदालाई चित्रकारहरू माझ प्रस्तुत गर्न महोत्सवको आयोजना गरिएको हो। महोत्सवका कार्यक्रमहरू मार्फा, थिनी, कागबेनी र जोमसोम जस्ता सुन्दर स्थानहरूमा हुनेछन्।

महोत्सवका प्रमुख कार्यक्रमहरूमा आउटडोर चित्रकला कार्यशाला, फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङ, साथै सांस्कृतिक र साङ्गीतिक प्रस्तुतिहरू रहेका छन्। महोत्सवको अर्को मुख्य आकर्षण ‘ट्राभलिङ किम्फ’ हुनेछ, जसमा हिमाली क्षेत्रका चलचित्रहरू प्रदर्शनीमा राखिनेछन्। यस कार्यक्रमलाई काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले संयोजन गर्नेछ। अक्टोबर २० देखि २४ तारिखसम्म हरेक साँझ दुई घण्टा हिमाली चलचित्रहरूको प्रदर्शन हुनेछ।

महोत्सवमा नेपालसहित विभिन्न देशका अन्तर्राष्ट्रिय चित्रकारहरूको सहभागिता रहनेछ। थाइल्यान्डका डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डका इवा क्रुएजकोस्का, रोमानियाका स्टेफन बालोग, भुटानका जामपेल छेदा, इन्डोनेसियाका एमी गो, र ताइवानका छेङ हान–वेनले महोत्सवमा आफ्नो प्रतिभा देखाउनेछन्। साथै, नेपालका सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरुङले पनि आफ्नो कला प्रस्तुत गर्नेछन्।

यो महोत्सवले मुस्ताङको सांस्कृतिक महत्त्व र सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu