चिनियाँ दर्शक लक्षित गरी हङकङमा ‘गाउँ आएको बाटो’ रिलिज हुँदै



काठमाडौं। नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ पहिलो पटक चिनियाँ दर्शकलाई लक्षित गर्दै हङकङमा सार्वजनिक प्रदर्शन हुने भएको छ। गोल्डेन सिन सिनेमाले यस चलचित्रको वितरण अधिकार खरिद गरेर चिनियाँ सबटाइटलसहित प्रदर्शन गर्न लागेको हो। निर्देशक नवीन सुब्बाको निर्देशनमा बनेको यो चलचित्र आइतबार गोल्डेन सिन सिनेमा हलमा विशेष प्रदर्शन हुँदैछ। निर्देशक सुब्बाका अनुसार यो विशेष प्रदर्शन चिनियाँ दर्शकलाई ध्यानमा राखेर आयोजना गरिएको हो।

प्रदर्शनका लागि निर्देशक सुब्बासहित अभिनेत्री पशुपति राई, बाल कलाकार प्रसन राई, र मिङ्सो लिम्बू शनिवार नेपालबाट हङकङ प्रस्थान गरेका छन्। निर्देशक सुब्बाले भने, “हङकङको नेपाली समुदायमा अक्टोबर २० मा ‘गाउँ आएको बाटो’ चिनियाँ दर्शकमाझ प्रदर्शनको तयारी भइरहेको छ। यसपछि थाइल्यान्ड, इन्डोनेसिया, इटाली र युकेमा पनि प्रदर्शन गरिनेछ।”

चलचित्रका निर्माता अमोद राईले चलचित्रलाई चिनियाँ सबटाइटलमा अनुवाद गरी प्रदर्शनका लागि तयारी पूरा भएको बताएका छन्। उनले हङकङमा रहेका नेपाली समुदायलाई फिल्म हेर्न आग्रह गर्दै भने, “गाउँ आएको बाटोलाई गोल्डेन सिन सिनेमा हलमा प्रदर्शन गर्न लागेका छौँ। यो चलचित्र हङकङवासीका लागि विशेष छ, र नेपाली समुदायले यसलाई हेरेर यहाँको बक्स अफिसमा योगदान पुर्‍याउनु आवश्यक छ। हामीलाई विश्वास छ कि गाउँ आएको बाटोले चिनियाँ बजारमा इतिहास बनाउनेछ।”

हङकङका कार्यकारी निर्माता देवराज राईले चलचित्रलाई हङकङसम्म ल्याउन धेरै चुनौती पार गर्दै सफल भएको बताए। उनले भने, “गाउँ आएको बाटो समयमा हङकङ नआएकोमा धेरै गुनासो आएका थिए। तर नेपाली फिल्मलाई यहाँको समुदायसम्म पुर्‍याउने अठोटले ढिलो भए पनि धेरै बाधाहरू पार गर्दै हामीले यो चलचित्र यहाँसम्म ल्याउन सफल भएका छौँ।”

नेपाली फिल्ममेकिङ इतिहासमा ‘गाउँ आएको बाटो’मा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरूको सहभागिता रहेको छ। ताइवानका क्वान पुन लुङले चलचित्रको सम्पादन गरेका छन् भने हङकङकी हाइडी लीले सङ्गीत संयोजन गरेकी छन्।

चलचित्रको सह-निर्मातामा हङकङका अरुण राई, मातृदीप राई, रामली राई, सुमन बोनेम, र मायादेवी राई लगायतका व्यक्तिहरू रहेका छन्। दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारहरूले चलचित्रमा अभिनय गरेका छन्।

यसअघि ‘गाउँ आएको बाटो’लाई क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउ पाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, र चीनको बेइजिङजस्ता अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन गरिएको थियो। अमेरिकी छायाकार जोस हेरमले चलचित्रको छायाङ्कन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu