काठमाडौंमा ‘ग्लोमस क्याम्प’ हुँदै, २१ देशका ३०० भन्दा बढी कलाकारहरूको सहभागिता रहने



काठमाडौं। नेपाल म्युजिक सेन्टर ट्रस्टको आयोजनामा आगामी आइतबारदेखि काठमाडौंको गोकर्ण रिसोर्टमा सुरु हुने अन्तर्राष्ट्रिय कार्यशाला ‘ग्लोमस क्याम्प’का लागि सबै तयारी पूरा भएको जानकारी गराइएको छ। शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा १० दिनसम्म चल्ने यस कार्यशालामा नेपालसहित २१ देशका ३१ विश्वविद्यालयका ३०० भन्दा बढी सङ्गीत, नृत्य, नाट्यकर्मी तथा कला प्राध्यापकहरू सहभागी हुने जनाइएको छ।

नेपाली सांस्कृतिक धरोहरको प्रवर्द्धन र अन्तर्राष्ट्रिय सङ्गीत क्षेत्रमा नेपालको स्थान मजबुत बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यो क्याम्पमा नेपालबाट मात्रै २०० भन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको छ।

यस कार्यशालाले सङ्गीत, सांस्कृतिक सम्पदा र सृजनशील बुद्धिमत्ताको आदानप्रदान गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्ने विश्वास लिइएको छ। कार्यशालाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेद्वारा हुनेछ। कार्यक्रममा विभिन्न किसिमका प्रशिक्षण, कला प्रदर्शन तथा सृजनशील बुद्धिमत्ताको आदानप्रदानसम्बन्धी गतिविधिहरू समावेश गरिएका छन्, जसले सहभागीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता अभिवृद्धि गर्न सघाउने अपेक्षा गरिएको छ।

ग्लोमस क्याम्पको इतिहास हेर्दा, सन् २००७ मा मोजाम्बिकमा पहिलो पटक आयोजना भएको यस कार्यशाला यसअघि घाना, तान्जानिया, मलेसिया, ब्राजिल, र डेनमार्कमा पनि सम्पन्न भइसकेको छ। हरेक संस्करणमा सङ्गीत र कलाको माध्यमबाट सृजनशीलता र नागरिकताको बहस गरिँदै आएको ग्लोमस क्याम्पले यस पटक नेपालको सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गर्नेछ। आयोजक संस्थाका अनुसार, ग्लोमसले सृजनशील नागरिकताको बहस र अवसर प्रदान गर्छ भन्ने मुख्य उद्धरण कार्यशालाको मूल विचारको रूपमा रहेको छ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो अन्तर्राष्ट्रिय कार्यशालाले नेपाली कलाकार र सांस्कृतिक संस्थाहरूका लागि नयाँ अवसरहरूको ढोका खोल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu