प्रकाश सपुत र ‘पूर्णबहादुरको सारङ्गी’ विवाद, भन्छन्, ‘अरूको सपना र सङ्घर्षमाथि बेइमानी गर्नेहरूसँग फेरि जोडिन चाहन्न’



काठमाडौं। अभिनेता तथा गायक प्रकाश सपुतले आफ्नो आगामी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ लाई लिएर उठेका विभिन्न विवाद र चर्चाहरूको बारेमा खुलेर बोलेका छन्। हालै आयोजित ट्रेलर रिलिज कार्यक्रममा उनको अनुपस्थितिले उनी र निर्माताबीच खटपट भएको हल्लाले व्यापकता लिएको थियो। यसअघि उनले चलचित्रको एक गीत पनि सामाजिक सञ्जालमा शेयर नगरेपछि निर्मातासँग उनी असन्तुष्ट रहेको चर्चा चलेको थियो। हालै प्रकाशले आफ्ना प्रशंसक र चलचित्र प्रेमीहरूलाई फेसबुकमार्फत एउटा विस्तृत स्पष्टीकरण दिँदै सबै भ्रमहरूलाई हटाउने प्रयास गरेका छन्।

प्रकाशले आफ्नो बयानमा खास गरी आफू कुनै पनि अवस्थामा अरूको सपना र सङ्घर्षमाथि बेइमानी गर्नेहरूसँग फेरि कहिल्यै जोडिन नचाहने बताएका छन्। फेसबुकमा पोस्ट लेख्दै उनले भनेका छन्, “म यो कथा र आफ्नो पात्र ‘कमले’लाई लिएर एकदमै उत्साहित छु र कामना गर्छु, पूर्णबहादुरको सारङ्गी जस्तो कथाहरूसँग जोडिन पाइराखौँ। कमले जस्तो सामान्य पात्र भएर ‘बा’ को सपना बाच्न पाइराखौँ। तर, पर्दामा यस्तो सपना, सङ्घर्ष र इमानको कथा बनाएर बाहिर चाहिँ अरूको सपना, सङ्घर्ष र इमान माथि बेइमानी र बदनामी गर्नेहरूसँग चाहिँ फेरी जोडिन नपरोस्। कम्तीमा मर्यादित बनौँ। अर्को कुरा सिर्जना, दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दम ले चल्छ। सर्जक, निर्माता वा कलाकारको दम्भ ले होइन।”

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ लाई लिएर आएका चुनौतीहरूको बारेमा प्रकाशले आफ्नो धारणा राखेका छन्। उनले यस अघि ‘परदेशी २’ चलचित्रको लागि चार वर्ष पर्खिएको स्मरण गर्दै भनेका छन्, “जे होस, पूर्णबहादुरको सारङ्गी राम्रो कथामा बनेको छ। मैले राम्रो भएर नै मनैदेखि काम गरेको हुँ। विजय बराल, मुकुन भुसालजस्ता जीवन्त कलाकारसँग काम गर्न मनै देखि खुसी थिए र मनैदेखि दर्शक सम्म लिएर जाने रहर थियो। तर, चलचित्र अचानक प्रदर्शन हुने भएपछि म सर्प्राइज भएँ। मसँग लडी बस्ने ईनर्जि भएन। मैले केही भन्न सकिनँ।”

उनले आफू अर्को चलचित्र ‘वसन्त’ को छायाङ्कनमा व्यस्त रहेको, जसको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा रहेको बताएका छन्। “यतिखेर म वसन्तको छायाङ्कनमा छु । यसको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा भएकोले समय मिलाउन अलि गाह्रो भएको छ र मानसिक रूपमा पनि अरू सोच्न सकिने अवस्था छैन । यसै पनि म उति सारो प्रचार प्रसार गर्न जान्ने र जाँगर गर्ने कलाकार पनि होइन। भूमिका का हिसाबले पनि सारङ्गीमा मेरो भारी अलि कम छ जति अरूको छ।”

प्रकाश सपुतले स्पष्ट रूपमा भनेका छन् कि उनी अब कुनै पनि सर्त र सम्झौताको कुरा सार्वजनिक रूपमा गर्न चाहन्न। उनले भने, “यो नै अन्तिम स्पष्टीकरण हो है। अब सार्वजनिक रूपमा सर्त, सम्झौता र नकारात्मकताको कुरा गरिने छैन। अब सकारात्मक ढङ्गले पूर्णबहादुरको सारङ्गीको प्रमोसन गरिनेछ। सबैको मनमा मिठो धुन बजाइनेछ।”

यसैबीच, यस चलचित्रका निर्माता विनोद पौडेलले प्रकाश सपुतको भनाइप्रति प्रतिक्रिया दिँदै फेसबुकमा जवाफ दिएका छन्। उनले भनेका छन्, “हामीलाई बेइमानीको ट्याग लगाएर अब कहिले काम नगर्ने बाचा गरेपनि, हजुरसँग चाहिँ हामी सदैव जोडिन पाइयोस्। हामीले कसैको चरित्र हत्या र बेइमानी नगरेको प्रस्ट्याउन चाह्यौँ। जब हामीले यो चलचित्रको लागि प्रस्ताव गर्दा ‘वसन्त’ पछि रिलिज गर्ने सर्तमा नै क्लियर भएर लिखित सम्झौता भएको हो। हामीले यो कुरालाई कतै नकारेको छैनौँ र यो कुरामा माफी पनि मागेका थियौँ। चलचित्रको रिलिज डेट तोक्नु अघि हामी सहमतिमै बसेर पोस्टर सार्वजनिक गरेका थियौँ। अब यो कुरालाई बेइमानी भनिन्छ भने, हामी बेइमानी नै सही। चाहे जानाजानमा होस् या अनजानेमा, जति चित्त दुखाइ भयो, त्यसको माफी माग्दछौँ। आजबाट यो कुरा कहिल्यै उठाउने छैनौँ।”

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ कार्तिक १५ मा रिलिज हुँदै छ।

यस्तो छ प्रकाश सपुतले दिएको स्पष्टीकरण:

यस्तो छ निर्माता पौडेलको जवाफ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu