‘छक्का पञ्जा ५’ पहिलो पटक साउदी अरब र मालदिभ्समा प्रदर्शन, नेपाली दूतावासको समेत सहयोग



काठमाडौं। नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ पहिलो पटक साउदी अरब र मालदिभ्समा प्रदर्शन भएको छ। नेप-फिल्म्सका रमेश ढकालको वितरणमा साउदी र मालदिभ्समा चलचित्र रिलिज भएको हो। साउदी अरबका १० हलमा चलचित्र प्रदर्शनमा आएको छ, जसमा जुबेल, दमाम, जेद्दा, र रियादका प्रमुख सिनेमाघरहरू समावेश छन्।

साउदीस्थित नेपाली राजदूतावासले पनि चलचित्रको साउदी रिलिजलाई समर्थन गर्दै, शो समय सार्वजनिक गरेर नेपाली समुदायलाई फिल्म हेर्नका लागि आह्वान गरेको छ। साउदी र मालदिभ्सको बजार नेपाली चलचित्रका लागि नयाँ मानिन्छ, र साउदीमा राम्रो व्यापार हुने अपेक्षा गरिएको छ। नेप-फिल्म्सका रमेश ढकालले भने, “साउदीमा अपेक्षित व्यापार भयो भने नेपाली चलचित्रलाई ठूलो राहत पुग्नेछ।”

मालदिभ्सको राजधानी मालेका २ हलमा पनि पहिलो पटक नेपाली चलचित्र प्रदर्शन भएको हो। ‘छक्का पञ्जा ५’ले मध्यपूर्वका युएई, कतार, बहराइन, र ओमानमा पनि प्रदर्शन पाइरहेको छ भने मलेसियामा पनि छिट्टै प्रदर्शन हुने तयारी भइरहेको छ।

यस चलचित्रले अमेरिका समेतको नयाँ बजार पाएको छ, जहाँ पहिलो पटक अलास्कामा पनि प्रदर्शन भएको छ। अमेरिकाका लागि वितरण अधिकार लिएका प्याट्रिक सुवेदीले चलचित्रलाई अलास्कामा रिलिज गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu