‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चल बस्नेतको घोषणा, हलको विकल्पमा ओटीटीमा रिलिज गर्ने



काठमाडौं। असोज १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले अन्ततः चलचित्रलाई हलबाट उतार्ने घोषणा गरेका छन्। हलहरूको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।

निश्चलले आफ्नो पोस्टमा लेखेका छन्, “हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धेरै धन्यवाद। सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्स सिनेमाजलाई धेरै धन्यवाद। भोलीबाट (अक्टोबर १७) हाम्रो फिल्मलाई नेपालका सबै हलहरूबाट उतार्ने निर्णय गरेका छौँ। हाम्रो अवस्थालाई बुझिदिनुभएकोमा डिसिएन, एप्पल इन्टरटेनमेन्ट र ओएसआर डिजिटललाई पनि धन्यवाद।”

बस्नेतले हल व्यवस्थापनप्रति आक्रोश व्यक्त गर्दै यसअघि पनि आफ्नो चलचित्रलाई दर्शकको राम्रो साथ र उच्च अकुपेन्सी हुँदासमेत पर्याप्त शो नदिएको गुनासो गरेका थिए। उनले हिन्दी चलचित्रलाई अकुपेन्सी नभए पनि बढी शो दिइएको भन्दै हलहरूको विकल्प खोज्नुपर्ने सङ्केत गरेका थिए।

‘बेहुली फ्रम मेघौली’ को वितरण कम्पनी डिसिएनका अध्यक्ष अशोक शर्माले पनि हलहरूको व्यवस्थापनप्रति कडा प्रतिक्रिया दिएका थिए। उनले नेपाली चलचित्रहरूलाई अकुपेन्सी हुँदासमेत पर्याप्त शो नदिई हिन्दी चलचित्रलाई प्राथमिकता दिएकोमा आक्रोश व्यक्त गरेका थिए। शर्माले भनेका थिए, “बुधवार हाउस फुल भएको शो बिहीबार हटाउनु पर्छ भन्ने मान्यता हो त?”

बस्नेतले भविष्यमा यस चलचित्रलाई नयाँ ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत दर्शकहरूसँग चाँडै भेट्ने योजना रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu