हलसँग फेरी असन्तुष्ट बने निश्चल, भन्छन्, ‘म हलको विकल्प तिर लागेँ’



काठमाडौं। चलचित्र ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले असोज १७ गतेदेखि प्रदर्शनमा आएको आफ्नो चलचित्रलाई नेपाली हलहरूले अन्यायपूर्ण व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै बस्नेतले राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, र उच्च अकुपेन्सी हुँदासमेत आफ्नो चलचित्रलाई पर्याप्त शो नदिई हिन्दी चलचित्रलाई शो बढाइदिएको गुनासो गरेका हुन्।

उनले भनेका छन्, “राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईँहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शोज दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि। म चाहिँ हलको विकल्प तिर लागेँ।”

निश्चलले फेसबुकमा लेखेको स्ट्याटस

‘बेहुली फ्रम मेघौली’ करिब ३३५ शो सहित रिलिज भएको थियो, जुन इतिहासकै धेरै शो प्राप्त गर्ने नेपाली चलचित्र बनेको थियो। तर, दोस्रो हप्ता ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’, र हिन्दी चलचित्र ‘जिग्रा’ रिलिज भएपछि ‘बेहुली फ्रम मेघौली’ को शो सङ्ख्यामा तीव्र गिरावट आयो। यद्यपि, कम शोहरूमा पनि दर्शकको उपस्थिति भने उल्लेख्य नै रहेको छ।

हाल, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले नेपाली हलहरूमा बढी शो पाइरहेको छ, भने ‘ज्वाइँ साब’ र ‘बेहुली फ्रम मेघौली’ ले निकै कम शो पाइरहेका छन्। खास गरी ‘जिग्रा’मा दर्शकको अभाव हुँदासमेत त्यो चलचित्रलाई ‘बेहुली फ्रम मेघौली’ भन्दा बढी शो दिइएकोमा बस्नेत असन्तुष्ट बनेका हुन्।

स्मरणीय छ, यसअघि निश्चलको चलचित्र ‘दिमाग खराब’को प्रदर्शनका क्रममा पनि उनले हलले दोस्रो हप्ता देखि निर्मातालाई ५० प्रतिशत शेयर दिन सहमत नभए चलचित्र उतार्ने चेतावनी दिएका थिए, जसको परिणामस्वरूप हलहरूले निर्माताहरूलाई ५० प्रतिशत शेयर दिने सहमति गरेका थिए।

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu