दीपक भन्छन्, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा’ दुवै राम्रो चलेको छ, यसले के बिग्रियो?’



काठमाडौं। सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ का अभिनेता तथा निर्माता दीपकराज गिरीले हालै नेपाली चलचित्र उद्योगमा बढ्दो नकारात्मक प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै एक अर्कालाई सहयोग गर्न र उद्योगलाई समग्रमा अगाडि बढाउन आग्रह गरेका छन्।

गिरीले भनेका छन्, “यो पालि हामीले एक अर्कालाई गाली गर्ने ट्रेन्ड सुरु गर्‍यौँ, यसले हाम्रो उद्योग कता जाला? ‘१२ गाउँ’ पनि राम्रो चलेको छ, ‘छक्का पञ्जा’ पनि राम्रो चलेको छ। यसले के बिग्रियो? हाम्रो फिल्मको कलेक्सन रिपोर्ट जस्ताको तस्तै सत्य रूपमा प्रस्तुत गरेका छौँ।”

उनले थपे, “१२ गाउँका शोहरू पनि सबै हाउसफुल भएका छन्। उहाँहरूको पनि पक्कै राम्रो छ। एक अर्कालाई राम्रो भनेर नै अगाडि बढ्न सकिन्न र? एकले अर्कोलाई चुनाव लडेजस्तो हराउनु पर्ने किन? दुवै जिते हुन्न र?” गिरीले चलचित्रबारे गाली-प्रवृत्तिलाई त्याग्न आग्रह गर्दै भने, “कसैले सिनेमा को तारिफ गर्‍यो, गाली! समाचार लेख्ने लाई गाली, हाम्रा वालहरूमा गाली। कृपया यस्तो नकारात्मकता त्यागौँ, साथीहरू। सबै मिलेर अगाडि बढौँ। एउटा सिनेमा लाई होइन, नेपाली सिनेमा लाई नै जिताऔँ।”

‘छक्का पञ्जा ५’ को आक्रामक व्यापार
दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पञ्जा ५’ ले प्रदर्शनको पहिलो दिनदेखि नै आक्रामक व्यापार गरिरहेको छ। चलचित्र टिमले पहिलो ३ दिनको व्यापार ५ करोड बढी रहेको सार्वजनिक गरेका थिए। आइतबारसम्म भने घरेलु बक्स अफिसमा करिब ६.५ करोड रुपैयाँ कमाएको फिल्मले सोमबारसम्म ७ करोडको आँकडा सजिलै पार गर्ने अनुमान गरिएको छ। यस चलचित्रले बिहीबार १.८२ करोड, शुक्रवार १.८५ करोड, शनिवार १.१० करोड, र चौथो दिन झन्डै २ करोडको व्यापार गरेको थियो।

चलचित्रको गति अत्यन्तै तीव्र छ, खास गरी पारिवारिक दर्शकहरूको चाप उच्च रहेकोले चलचित्रले शोजलाई अकुपेन्सीमा बदल्न सजिलै सफल भएको छ। काठमाडौँदेखि उपत्यका बाहिरका हलहरूमा समेत राम्रो व्यापार भइरहेको छ, जसले ‘छक्का पञ्जा’का अघिल्ला सिरिजहरूको तुलनामा यस पटकको प्रदर्शनलाई अझै सफल बनाएको छ।

‘१२ गाउँ’ को व्यापार पनि आक्रामक
बिराज भट्ट निर्देशित ‘१२ गाउँ’ले पनि आक्रामक व्यापार गरिरहेको छ। यद्यपि फिल्मको आधिकारिक कमाई रिपोर्ट सार्वजनिक नभए पनि, फिल्मले उच्च अकुपेन्सी पाएको र दर्शकहरूको समर्थन बटुलिरहेको देखिएको छ। केही हलहरूमा यसको शो उल्लेख्य सङ्ख्यामा थपिनु यो चलचित्रको सफलताको स्पष्ट सङ्केत हो।

तुलनात्मक रूपमा ‘ज्वाइँ साब’को स्थिर व्यापार
यस पटकको दसैँमा रिलिज भएको अर्को फिल्म ‘ज्वाइँ साब’ को व्यापार तुलनात्मक रूपमा कमजोर देखिए पनि दर्शकहरूको चासो भने कायम रहेको छ। केही हलहरूमा हाउसफुल शोहरूसमेत देखिएकाले यो चलचित्रले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। यसले दर्शकहरूमाझ आफूलाई स्थापित गर्दै गएको सङ्केत दिएको छ, यद्यपि, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को जस्तो उच्च अकुपेन्सी भने छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu