अभिनेत्री नन्दिता केसीले परम्परागत ‘दही चिउरा’ खाँदै मनाइन् मातृत्वको खुसी



काठमाडौं। हाल अमेरिकामा बस्दै आएकी अभिनेत्री नन्दिता केसीले आफ्नो पहिलो सन्तानको जन्म हुने दिन नजिकिँदै गर्दा परम्परागत नेपाली संस्कारअनुसार ‘दही चिउरा’ खाने उत्सव मनाएकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएका केही तस्बिरहरूमा केसी र उनका श्रीमान् अरविन्द्र कटवाल परम्परागत नेपाली पोसाकमा सजिएका छन्। साथै, आफन्त र परिवारजन पनि परम्परागत नेपाली पोसाकमा रहेका छन्।

उनीहरूले दही चिउरा खाने क्रममा परिवारका सदस्यहरू, साथीहरू र आफन्तहरूसँग रमाइलो गरेका छन्। उक्त उत्सवमा नन्दिता र उनका श्रीमान् दुवै जना निकै खुसी देखिएका छन्।

नेपाली परम्परामा ‘दही चिउरा’ खाने चलन विशेष गरी गर्भवती महिलाहरूका लागि शुभ मानिन्छ र सन्तानको स्वास्थ्य र समृद्धिको कामनासहित यो विधि अपनाइन्छ। यद्यपि, हालका दिनहरूमा धेरैले पाश्चात्य संस्कृतिको ‘बेबी सावर’ मनाउने गरेका छन्। नन्दिता भने आफ्नो सांस्कृतिक परम्परालाई आत्मसात् गर्दै यो परम्परागत विधिलाई प्राथमिकता दिएकी छन्।

यो परम्परागत विधि आजकल विदेशमा रहेका नेपाली समुदायका लागि आफ्नो संस्कृति जोगाउने एउटा तरिका पनि बनेको छ।

नन्दिता र अरविन्द्रले गत वर्ष फागुनमा विवाह गरेका थिए। अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका अरविन्द्र मुटु रोग विशेषज्ञ हुन्।

३४ वटा नेपाली चलचित्रमा अभिनय गरेकी नन्दिताको पहिलो चलचित्र ‘इन्द्रेणी’ हो र उनको पछिल्लो चलचित्र सात वर्षअघि रिलिज भएको ‘जङ्गबहादुरको कोट’ हो।

फोटो: नन्दिता केसीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu