काठमाडौं। नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको छ। चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारहरूको अभिनय समेटिएको छ। टिजरले चलचित्रको कथा र पात्रहरूको झलक प्रस्तुत गरेको छ।
चलचित्रमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाको प्रमुख भूमिका रहेको छ। यस्तै, गरिमा शर्मा र दक्षिण भारतीय कलाकारहरू ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहन सिंहलाई पनि टिजरमा समेटिएको छ। विशेष भूमिकामा रहेका अभिनेत्री बिपना थापा र रेखा थापाको झलकले टिजरलाई थप आकर्षक बनाएको छ।
चलचित्रमा सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा, नरेन खड्का, आदर्श मिश्र लगायतका कलाकारहरूको समेत महत्त्वपूर्ण भूमिका रहेको छ। टिजरले एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरूको जीवनमा आउने उतारचढावको कथालाई उजागर गर्ने प्रयास गरेको छ।
‘ह्रस्व दीर्घ’ चन्द्र पन्तको डेब्यु निर्देशन हो। नीता फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको यस चलचित्रको कार्यकारी निर्माता धनञ्जय गलानी हुन्। चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा र संवाद प्रतीक पौडेल, निर्देशक पन्त र हरिहर अधिकारीले तयार पारेका छन्।
चलचित्रको छायाङ्कन बलिउडका चर्चित छायाकार कबिरलालले गरेका छन्। उनले यसअघि ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता थुप्रै हिन्दी फिल्महरूमा आफ्नो कुशलता देखाइसकेका छन्।
नेपाली, तेलुगु, र हिन्दी भाषामा निर्माण भएको ‘ह्रस्व दीर्घ’ कार्तिक ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ।
टिजर: