‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ प्रदर्शनमा, दसैँको सबैभन्दा ठुलो रिलिज



काठमाडौं। यस वर्षको दसैँको फूलपातीको दिन पारेर बिहीबार तीन नेपाली चलचित्रहरू ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका छन्। सम्भवतः नेपालमा दसैँको समयमा भएको सबैभन्दा ठुलो रिलिज यही हो।

बिहीबार तीन वटै चलचित्र एकसाथ रिलिज हुँदा ‘छक्का पञ्जा ५’ले सबैभन्दा धेरै शो प्राप्त गर्‍यो, त्यसपछि ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। हलको शो बाँडफाँड अनुसार, बिहीबारका शोमा ‘छक्का पञ्जा ५’ नै अग्रणी रह्यो भने ‘१२ गाउँ’ले पनि दर्शकहरूको राम्रो साथ पायो। यसले बिराज भट्टको स्टारडमलाई पुनः स्थापित गरेको मानिन्छ, र उनका छोरा समीर भट्टको डेब्यु सफल ठहरिएको छ। दर्शकको चापमा ‘ज्वाइँ साब’ तेस्रो स्थानमा रह्यो, तर अपेक्षित दर्शक सङ्ख्यामा भने कमी देखियो। तीन वटै चलचित्रको समीक्षा आउन बाँकी छ।

यस्तै, नेपालबाहिर पनि ‘छक्का पञ्जा ५’ एकसाथ रिलिज भएको छ। यसले अमेरिका, जापान, अस्ट्रेलिया, र मध्यपूर्वमा उत्साहजनक सुरुवात गर्ने अपेक्षा गरिएको छ। साउदी अरेबियामा यो चलचित्रमार्फत नेपाली चलचित्रको बजार खुल्दै छ, र मालदिभ्समा पनि रिलिज हुँदै छ।

‘छक्का पञ्जा ५’ सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचारको कथामा आधारित छ, जसलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। निर्देशनमा यो उनको चौथो चलचित्र हो। दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, निर्मल शर्मा, र राजाराम पौडेलको अभिनय रहेको यस चलचित्रमा आर्यन सिग्देलले केमियो भूमिका निभाएका छन्। यस सिरिजका अघिल्ला चार चलचित्रहरू व्यावसायिक रूपमा सफल भएका थिए।

बिराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’मा उनका छोरा समीर भट्टले अभिनेताको रूपमा डेब्यु गरेका छन्। बिराज स्वयंले पनि मुख्य भूमिका निर्वाह गरेका छन् भने न्यान्सी खड्का र सनिशा भट्टराईले यस चलचित्रबाट अभिनय यात्रा सुरु गरेका छन्। फिल्म एक्सन प्रधान र सामाजिक कथावस्तुमा आधारित छ।

वसन्त निरौलाले निर्देशन गरेको ‘ज्वाइँ साब’मा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्। यस चलचित्रमा प्रकाश घिमिरे, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, र शिवु पाण्डेको पनि अभिनय छ। फिल्मले विवाहपछि बेहुलाको घरमा बेहुली भित्रने परम्परालाई चुनौती दिँदै बेहुलीको घरमा बेहुला भित्रिएको अनौठो कथा प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu