काठमाडौं। यस वर्षको दसैँको अवसरमा फूलपातीको दिन तीन नयाँ नेपाली चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ दर्शकमाझ आउँदै छन्।
यस विशेष अवसरमा अभिनेता प्रदिप खड्काले आफ्नो फेसबुकमार्फत तीन वटै चलचित्रलाई शुभकामना दिएका छन्। उनले लेखेका छन्, “फूलपाती, अष्टमी/नवमी र टिकाको ‘सेलेब्रेसन डोज’ आयो है। यो कुनै लडाइँ र जुधाई होइन, हामी सबै सधैँ, सँगसँगै! सबै चलचित्रलाई सफलताको शुभकामना।” यसबाट प्रदिपले चलचित्र क्षेत्रमा एकता र सहकार्यको सन्देश दिन खोजेका छन्।
आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको दिन प्रदिप खड्काको नयाँ चलचित्र ‘एक्टर: टेक वन’ र ‘पूर्ण बहादुरको सारङ्गी’ एकसाथ रिलिज हुँदै छन्। यसअघि, जेठ १० गते प्रदिपको चलचित्र ‘पुजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एकै दिन रिलिज हुँदा, चलचित्रहरूको जुधाइको चर्चा व्यापक बनेको थियो। त्यस समयमा, कलाकारहरूले चलचित्र रिलिजको निर्णय आफूहरूले नगरेर निर्माताहरूले गर्ने स्पष्ट पारेका थिए।
प्रदिपले फेसबुक स्ट्याटसमार्फत एकताको सन्देश दिँदै चलचित्रहरूलाई एक अर्काको प्रतिस्पर्धीको रूपमा नहेरौँ भन्ने आग्रहले सकारात्मक र मेलमिलापको भावना फैलाउन खोजेको बुझिन्छ। साथै, उनले पर्वका बिदाहरूमा दिनमा एउटा चलचित्र हेर्न सल्लाह समेत दिएको बुझिन्छ।
यस विषयमा हामीसँग कुरा गर्दै अभिनेता प्रदिप खड्काले दसैँको अवसरमा पारिवारिक समयको महत्त्वका बारेमा बोलेका छन्। उनले मदिरा पान तथा जुवा तासमा भुलेर पारिवारिक समय नास नगर्न सुझाव दिँदै, पालैपालो सबै चलचित्र हेरेर सामाजिक, पारिवारिक तथा गुणस्तरीय समय बिताउन र यसरी नेपाली संस्कृतिको जगेर्ना गर्न अपिल गरेका छन्।