शुभेच्छा खड्का: ब्युटी प्याजेन्टदेखि नेपाली रजतपटसम्मको यात्रा



काठमाडौं। शुभेच्छा खड्का ब्युटी प्याजेन्टको माध्यमबाट नेपाली रजतपटमा प्रवेश गरेकी एक सफल नायिका हुन्। सन् २०११ मा मिस ई कलेज प्रतियोगितामा भाग लिँदै उनले आफ्नो यात्रा सुरु गरेकी थिइन्, जहाँ टप ५ सम्म पुग्दै दुई वटा सबटाइटल जितिन्। त्यसपछि मिस नेपाल २०१२ मा भाग लिँदा उनले मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सफल भइन्। यसले उनीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनायो, र उनले नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेसनल २०१२ (जापान) र वर्ल्ड मिस युनिभर्सिटी २०१७ (कम्बोडिया) मा समेत भाग लिइन्।

मोडलिङमा उनको १२ वर्षको करियरले उनलाई देशका प्रमुख ब्रान्डहरूको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्रदान गर्‍यो। उनी म्याजिक फुटवेयर, मिनिसो, वेलबेल, ग्ल्याम एन्ड ग्लोरी, ट्रेनेक्युलिटी स्पा, र अप्सन कन्सल्टेन्सी जस्ता ब्रान्डहरूसँग आबद्ध रहिन्। मोडलिङलाई उनले आफ्नो पेसा मात्रै नभई पहिचानको रूपमा पनि लिइन्। क्यामेरा अगाडि निर्धक्क भएर अभिनय गर्न, विभिन्न ब्रान्डसँग काम गर्न, र आफ्नो व्यक्तित्वलाई अझै मजबुत बनाउन मोडलिङले उनलाई सघायो।

शुभेच्छाले मोडलिङको सफल यात्रासँगै चलचित्रको क्षेत्रतर्फ पनि पाइला राखिन्। उनले आफ्नो पहिलो फिल्म ‘रणवीर’ मा मुख्य भूमिका निभाएकी थिइन्। गोविन्द सिंह भण्डारीले उनलाई यो चलचित्रमा अभिनयको प्रस्ताव राखेका थिए, जसले उनलाई सिनेमामा डेब्यु गर्न प्रेरित गर्‍यो। त्यसपछि उनले ‘चित्रा’ चलचित्रमा लिड रोलमा काम गरिन्। चलचित्रमा प्रवेश गरे पनि उनले मोडलिङलाई कहिल्यै बिर्सिनन्, बरु दुवै क्षेत्रमा सँगसँगै आफूलाई स्थापित गर्न लागिपरेकी छन्। 

शुभेच्छा सानैदेखि सौन्दर्य प्रतियोगिताहरूमा रुचि राख्थिन्, विशेष गरी मिस नेपाल र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले उनलाई निकै प्रेरित गर्थे। मिस नेपालमा भाग लिन पाउनु भनेको उनलाई ठुलो अवसर थियो, जसले उनलाई मोडलिङ क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि ढोका खोलिदियो। अहिले उनी चलचित्र क्षेत्रमा सक्रिय रहँदै विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीसँग पनि सम्पर्कमा छिन्।

उनले चलचित्र र मोडलिङलाई एकसाथ अघि बढाउने योजनामा छिन्। “चलचित्र र मोडलिङ त मेरो पहिचान नै हो,” उनले भनिन्, “यसलाई निरन्तरता दिनेछु र थप नयाँ अवसरहरू खोज्नेछु।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu