काठमाडौं। नेपाली चलचित्र उद्योगमा चलचित्रको पाइरेसी एउटा गम्भीर चुनौती बनिरहेको छ। यसले फिल्मको वास्तविक दर्शकसम्म पुग्ने अवसरलाई सीमित गर्छ र उद्योगको आर्थिक स्थिरतालाई समेत खलल पुर्याउँछ।
यसैबीच, प्रदर्शनरत नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’का निर्माता तथा अभिनेता निश्चल बस्नेत आफ्नो चलचित्रको पाइरेसी विरुद्ध उत्रिएका छन्। बस्नेतले आफ्नो प्रदर्शनरत चलचित्र ‘बेहुली फ्रम मेघौली’ को रिलिज पछि पाइरेसी भएको पाएपछि यसको विरुद्ध कडा कदम चाल्दै, बौद्धिक सम्पत्ति चोरी नगर्न चेतावनी दिएका छन्। उनले पाइरेसी एक गम्भीर अपराध रहेको र यसलाई रोक्न कानुनी प्रक्रिया अघि बढिसकेको जनाएका छन्।
निश्चलले फिल्मलाई समर्थन गर्ने दर्शकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। तर, उनले हलमा चलचित्रको भिडियो खिचेर विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट गर्नेहरूको एकाउन्ट नै बन्द गर्ने चेतावनी दिँदै प्रक्रिया अघि बढिसकेको बताएका छन्। साइबर ब्युरोले यस मामिलामा सक्रिय भूमिका खेलेकोमा उनले कृतज्ञता व्यक्त गरेका छन्।
उनले भनेका छन्, “पाइरेसी अपराध हो, आफू पनि बुझौँ र अरूलाई पनि बुझाऊँ। बौद्धिक सम्पत्ति चोरी नगर्न सबैमा अनुरोध छ।” पाइरेसीबाट नेपाली फिल्म उद्योगलाई हुने आर्थिक र सृजनात्मक हानिलाई न्यून गर्न उनले दर्शकहरूलाई सजग रहन आग्रह गरेका छन्।