काठमाडौं। निर्माणाधीन चलचित्र ‘मायाका रङ्गहरू’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन्। ‘प्रेम गीत ३’ पछि उनी पुनः एक्सन अवतारमा देखिन लागेका हुन्। सोमबार परेको उनको जन्मदिनको अवसरमा फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै यो जानकारी दिइएको हो।
यसअघि यस चलचित्रको मुख्य भूमिकामा अभिनेता पल शाह लगायतका कलाकार अनुबन्धित भएको सार्वजनिक भएको थियो, तर अहिले मनिषको अनुबन्ध भएपछि पलले यो चलचित्रमा काम नगर्ने चर्चा चलेको छ। यद्यपि, यस विषयमा भने निर्माण पक्ष मौन छ।
केबल तामाङको निर्देशनमा बन्ने यो चलचित्रको छायाङ्कन सिक्किम, दार्जिलिङ, इलाम, र काठमाडौंमा गरिनेछ। यसका सहायक निर्देशक भद्र भुजेल र राम मेहरा, छायाङ्कन निर्देशक सौरभ लामा, तथा कथा, पटकथा र संवाद लेखक शेखर ज्ञवाली हुन्। सङ्गीतमा तारा प्रकाश लिम्बु, उर्गेन दोङ, र दीपक शर्माले योगदान दिनेछन्।
चलचित्रको रिलिज नयाँ वर्ष २०८२ को आसपासमा गर्ने लक्ष्य राखिएको छ।