मिसेस् नेपाल वर्ल्ड २०२४: ट्यालेन्ट राउन्डमा २९ प्रतियोगीको विभिन्न प्रतिभा प्रदर्शन



काठमाडौं। विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल वर्ल्ड २०२४’ का प्रतियोगीहरूले ट्यालेन्ट राउन्डमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्। काठमाडौंको धुम्बाराहीमा रहेको ‘द भ्वाइस अफ नेपाल’ स्टुडियोमा सम्पन्न ट्यालेन्ट शोमा २९ प्रतियोगीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, र ड्रेस डिजाइनिङ जस्ता विविध कलाहरू प्रस्तुत गरे।

प्रतियोगिताको आयोजक संस्था ‘रिबन इन्टरटेनमेन्ट’ का अध्यक्ष निशुकान्त झाले प्रतियोगीहरूले प्रदर्शन गरेका प्रतिभाका आधारमा ‘मिसेस् ट्यालेन्ट’ छानिने र यसको घोषणा अन्तिम प्रतिस्पर्धाको दिन गरिने जानकारी दिए। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी कार्तिक १० गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

ट्यालेन्ट शोमा निर्णायकको भूमिकामा अभिनेता वीरेन्द्र हमाल, अधिवक्ता तथा अभिनेता कृष्ण ढुङ्गाना, पत्रकार तथा गीतकार डब्बु क्षत्री, नृत्य निर्देशक जोगेन्द्र केसी, गायिका झुमा लिम्बु, अभिनेत्री सिर्जना अधिकारी, र सङ्गीतकार दीपक शर्मा रहेका थिए।

अश्विनी कान्त झाको कोरियोग्राफीमा सम्पन्न हुने यो प्रतियोगितामा विभिन्न पृष्ठभूमिबाट आएका प्रतिभाशाली महिलाहरूको सहभागिता रहेको छ। यसमा गृहिणी, डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यकर्मी, फेसन डिजाइनर, नर्स र दुई पटक क्यान्सर जितेका महिलासमेत प्रतिस्पर्धामा छन्।

यस वर्षको विजेताले अमेरिकामा हुने ‘मिसेस् वर्ल्ड’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। त्यस्तै, ‘मिसेस् नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ का विजेताहरूलाई सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu