नेपाली भाषामा विदेशी दर्शकलाई लक्षित गर्दै प्राइम भिडियोमा ‘अनौठो तृष्णा’



काठमाडौं। संसारभर रहेका नेपाली चलचित्र प्रेमीहरूका लागि एक रोमाञ्चक खबर आएको छ। यही मङ्गलवार (अक्टोबर ८) देखि अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा नेपाली चलचित्र ‘अनौठो तृष्णा’ स्ट्रिमिङ हुने पक्का भएको छ। यही ओटिटीबाट नै यो चलचित्रको वर्ल्ड प्रिमियर पनि हुने भएको हो। तर, यो रिलिज हालको लागि भने अमेरिका, युके र जर्मनमा मात्र रहेको छ।

निरञ्जन प्रधानको निर्देशनमा बनेको यो क्राइम तथा सस्पेन्स जनराको चलचित्रमा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, सृष्टि खड्का, अलिसा शर्मा, र विकास लामिछाने जस्ता कलाकारहरूले प्रमुख भूमिकामा अभिनय गरेका छन्। चलचित्रको कथा बाबुराम निरौलाले लेखेका छन् भने यसको निर्माणमा स्टर्म क्रो प्रोडक्सन नेपाल र स्टर्म क्रो फ्रेमवर्क अस्ट्रेलिया संलग्न छन्। चलचित्रका निर्माता सुगम आचार्य र निरञ्जन प्रधान हुन्।

यसैबिच, सोमबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा चलचित्र ‘अनौठो तृष्णा’को ट्रेलर सार्वजनिक गरियो। कार्यक्रममा निर्देशक, निर्माता र कलाकारहरूले चलचित्रको विषयमा विभिन्न धारणा व्यक्त गरेका थिए।

निर्देशक निरञ्जन प्रधानले यो चलचित्रले समाजका चार भिन्न-भिन्न वर्गका व्यक्तिहरूको तृष्णाको कथा प्रस्तुत गर्ने बताए। उनले भने, “चलचित्रको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्नु हो, तर यो नेपाली भाषामै अन्तर्राष्ट्रिय दर्शकहरूमाझ पुर्‍याउने हाम्रो प्रयास हो। हाम्रो भाषा विश्वव्यापी रूपमा फैलिनुपर्छ भन्ने हाम्रो चाहना हो।”

प्रधानले थपे, “चलचित्रमा चार परिवारको कथा समेटिएको छ, जसमा हरेकको लुकेको तृष्णा छ, जुन उनीहरूले कसैसँग साझा गर्न सक्दैनन्। यिनै तृष्णाहरूलाई पर्दामा उतार्ने प्रयास गरिएको छ।”

अभिनेता विजय बरालले चलचित्र अमेजन प्राइम भिडियोमा आउने खबरले आफूलाई उत्साहित बनाएको बताए। उनले भने, “यो चलचित्र फरक शैलीमा बनेको छ र पात्रहरूको लुकेका तृष्णाहरूको कथा आकर्षक छ। निर्देशकसँग काम गर्दा निक्कै ज्ञान प्राप्त भयो।”

अभिनेत्री सृष्टि खड्काले चलचित्रमा काम गर्दा आफूले धेरै सिक्न पाएको अनुभव सुनाइन्। “यो मेरो दोस्रो चलचित्र हो। म कल्पना पनि गर्न सकेको थिइन कि मेरो अभिनयको यात्रा यति छिट्टै प्राइम भिडियोसम्म पुग्छ। यो मेरा लागि निकै उत्साहजनक कुरा हो,” उनले भनिन्।

नव अभिनेता नवीन न्यौपानेले आफ्नो पहिलो चलचित्र नै अमेजन प्राइममा जानेछ भन्ने कहिल्यै नसोचेको र यस चलचित्रबाट धेरै अपेक्षा गरेको बताए। त्यसै गरी, यही चलचित्रबाट डेब्यु गरेका मोडल विकास लामिछानेले पनि यो चलचित्रबाट आफूले नयाँ अनुभव प्राप्त गरेको र आफ्नो पहिलो यात्रा सफल भएको अनुभव व्यक्त गरे।

अभिनेत्री अलिशा शर्माले चलचित्रप्रतिको आफ्नो अनुभव सुनाउँदै भनिन्, “यो मेरो दोस्रो चलचित्र हो। म पहिलो चलचित्रपछि धेरै सहज अनुभव नगर्दा चलचित्र नगर्ने निर्णय गरेकी थिएँ। तर, यो चलचित्रको स्क्रिप्टले मलाई पुनः काम गर्न प्रेरित गर्‍यो। मैले अमेजनमा स्ट्रिमिङ हुन्छ भनेर सोचेकै थिइनँ।”

चलचित्रका निर्माता सुगम आचार्यले नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रियकरणका लागि ‘अनौठो तृष्णा’ महत्त्वपूर्ण कदम भएको बताए। “अब हामीले नेपाली चलचित्रहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मेहनत गर्नुपर्छ। स्टर्म क्रो प्रोडक्सनले नेपाली चलचित्रलाई विश्वव्यापी ओटिटी प्लेटफर्ममा पुर्‍याउने यो सुरुवात मात्र हो। छिट्टै अरू नेपाली चलचित्रहरू पनि प्राइम भिडियोमा रिलिज हुनेछ,” उनले भने। निर्माता आचार्यले हालका लागि तीन देशमा मात्र उपलब्ध भए पनि यो चलचित्र छिट्टै नेपालसहितका विभिन्न देशहरूबाट पनि हेर्न मिल्ने बताए।

हालसम्म विदेशमा रहने करिब २६ लाख नेपालीहरूले अमेजन प्राइम भिडियोको सदस्यता लिएको अनुमान गरिएको छ। यद्यपि, निर्देशक प्रधानले ‘अनौठो तृष्णा’ नेपाली दर्शक मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकहरूका लागि पनि उपलब्ध भएको जिकिर गरे। उनले भने, “हाम्रो चलचित्र हाम्रै भाषामा विदेशी दर्शकहरूमाझ पनि पुर्‍याउने कोसिस गरेको हुँ।”

‘अनौठो तृष्णा’को प्राइम भिडियोमा उपस्थिति नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय बजारमा पाइला राख्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu