पत्रकार गौतमको पुस्तक ‘प्रवासका फूलहरू’ बेल्जियममा विमोचन



काठमाडौं। पत्रकार मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ बेल्जियममा विमोचन गरिएको छ। आइतबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन भएको हो।

पत्रकार तथा लेखक गौतम भ्रमणको क्रममा युरोपमा रहेको अवसर पार्दै बेल्जियममा विमोचन गरिएको हो। सो समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, गैर-आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै राजदूत राजभण्डारीले विदेशमा बसोबास गर्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरूले बुझ्न सके, यसले देशको विकासमा ठुलो योगदान पुग्ने धारणा राखे। उनले यो पुस्तक युरोपमा रहेका नेपालीहरूको दस्ताबेजका रूपमा रहने भएकाले यसको ऐतिहासिक महत्त्व रहेको पनि बताए। उनले लेखक गौतमलाई प्रवासमा रहेका नेपालीहरूको सङ्घर्ष, अनुभव, सफलतासँगै नेपाली भाषा, कला, साहित्य, संस्कृतिलाई विश्वभरि फैलाउन गरेको योगदानको लागि धन्यवाद दिए।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता समेत रहेका लेखक गौतमले पुस्तकमा विदेशमा रहेका नेपालीहरूको जीवित कथा समेट्ने प्रयास गरिएको बताए। करिब डेढ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको उल्लेख गर्दै गौतमले अनेसासप्रति आभार प्रकट गरे। पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरूको बाल्यकाल, शिक्षा, राजनीति, पारिवारिक अवस्था, र वैदेशिक सङ्घर्षका कथा समेटिएका छन्।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा रहँदा नेपालीहरूले आफ्नो पहिचानलाई निरन्तर जोगाउन गरेको सङ्घर्षको प्रशंसा गर्दै लेखक गौतमले महत्त्वपूर्ण योगदान गरेकोमा धन्यवाद दिइन्। नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले युरोपमा रहँदा सुन्दर भविष्यको खोजीमा रहेका नेपालीहरूको कथाहरूलाई सङ्कलन गरेकोमा लेखक गौतमलाई आभार प्रकट गरे। यसै गरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अम्गाईँले पुस्तकले विभिन्न पेसामा कार्यरत नेपालीहरूका अनुभवलाई समेटेको भन्दै लेखकलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu